भूकम्पपछि ब्युँझदै धादिङको बुढाथुम

इनेप्लिज २०७२ जेठ २६ गते ३:२५ मा प्रकाशित

300px-Dhading_district_locationधादिङ, २६ जेठ । नजिकै रहेको गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर आएको भूकम्पको विकराल विपत्तिको बेवास्ता गर्दै सधैँ झैँ बूढीगण्डकी नदी बगिरहेकी छिन् । तर बूढीगण्डकीकै काखमा अवस्थित धादिङ जिल्लाको बुढाथुम गाउँ विकास समितिमा भने भूकम्पले वितण्डा मच्चाएर गएको छ, बारपाकबाट नजिकै करिब चार किलोमिटर मात्र दूरी भएकोले पनि हुन सक्छ ।

बुढाथुममा एक हजार ५७ घरधुरी रहेकामा करिब ९० प्रतिशत पूर्णरुपमा ध्वस्त भएका छन् । सबैजसो विद्यालयका भवन ध्वस्त भएका छन् । एक गर्भवतीसहित सात महिला, चार विद्यार्थी गरी जम्मा १५ जनाले भूकम्पबाट ज्यान गुमाए भने छजना गम्भीर घाइते भएका थिए । सामान्य घाइते हुनेको सङ्ख्या ४६ रहेको छ ।

भूकम्पमा परेर करिब २५ प्रतिशत वस्तुभाउ मरेका छन् । भूकम्प आएको समयमा प्रायः वस्तुभाउ चरनमा रहेकाले कम क्षति भएको स्थानीयवासीको छ । स्थानीय तथा इस्तोनियाका नेपालका लागि वाणिज्यदूत नवराज दाहालको पहलमा भूकम्पपीडितलाई स्वास्थ्य उपचार गर्न बेल्जियमबाट आएको स्वास्थ्य टोलीले आइतबार वडा नं ५ बाँसखर्कमा क्याम्प सुरु गरेको छ । असार ३ गतेसम्म रहने टोलीले स्वास्थ्य उपचारका साथै गाविसमा रहेका छवटा शैक्षिक संस्थाका भत्किएका भवनको पुनर्निर्माणका लागि प्राविधिक सहयोग पनि गर्नेछ ।

स्वास्थ्य टोली आएपछि स्वास्थ्यसँगै विद्यालयको पुनर्निर्माणमा पनि हौसला मिलेको त्यहाँका शैक्षिक संस्था स्थापनामा विशेष योगदान पु¥याउनु भएका कृष्णबहादुर दाहालले बताउनुभयो । धेरै विद्यार्थीले अब गाउँमै सित्तैमा उपचार गर्न पाइने भन्दै खुसी व्यक्त गरे । खुसी हुनेमा स्थानीयवासी महेन्द्ररत्न निमाविमा कक्षा ८ मा अध्ययनरत सरिता थापा पनि हुनुहुन्थो । “मलाई पनि भूकम्पले घर लड्दाको धुलोले एलर्जी भएको छ, अब उपचार गराउँछु”, उहाँले भन्नुभयो ।

कच्ची सडक विस्तार भएको बुढाथुममा बर्खायाममा भने सवारीसाधन पु¥याउन मुस्किल पर्छ । हाल वर्षा सुरु भइनसकेकाले छिटफुट रुपमा यातायातका साधन चलिरहेका छन् । भूकम्पले दिएको पीडा र विविध समस्याका बाबजुद बुढाथुमवासी अहिले पुनर्निर्माणमा आफैँ जुटेका छन् ।

भूकम्पबाट स्थानीय वीरबहादुर घलेको घर लडेको छ, अन्नपात पुरिए, तर पनि उहाँले हरेश खानुभएको छैन । अस्थायी टहरा बनाउन सुरु गर्नुभएको छ । “अब भूकम्प आयो, क्षति भयो भनेर सधैँ गीत गाएर बसिरहनु उचित हुँदैन, मैले त आफैँ टहरा बनाउन सुरु गरिसकेँ”, उहाँले भन्नुभयो ।

स्थानीयवासी महिला विष्णु विश्वकर्माका पति विदेशमा छन्, जसका कारण भूकम्पसँग उहाँले प्रायः एक्लै पौँठेजोरी खेल्नुप¥यो । उहाँको घर त ध्वस्त भएको छैन, तर बस्न लायक पनि छैन । धेरै समय पालको जीवन काटेकी विश्वकर्माले भन्नुभयो, “घरमा छोरो मान्छे नहुँदा पुनर्निर्माणमा धेरै समस्या हुँदोरहेछ, तर म हारेकी छैन, चाँडै जस्तापाताकै भएपनि घर बनाउने छु ।”

बुढाथुममा एक उच्च मावि, दुई निमावि तथा तीन प्राविका लगभग शत्प्रतिशत भवन पठनपाठनका लागि योग्य छैनन् । करिब ५५० विद्यार्थी सङ्ख्या रहेको बद्रीविलास उच्च माविको पक्की भवनकै अधिकांश कक्षाकोठामा असुरक्षित मानेर रातो स्टिकर टाँसिएको छ । यसका बाबजुद त्यहाँका सबै विद्यालयमा पठनपाठन भइरहेका छन् । स्थानीय गाउँले, अभिभावक, शिक्षक तथा विद्यार्थी सबै मिलेर अस्थायी टहरा बनाएपछि त्यहीँ पढाइ भइराखेको छ ।

बद्रीविलास उमाविका शिक्षक रमेश अधिकारी भन्नुहुन्छ, “सबै मिली चार÷पाँच दिन लगाएर भर्खरै टहरा बनाउने काम सकियो, टहरा नहुँदा पनि चौरमा पढाएकै हो”, उहाँले भन्नुभयो ।

प्रधानाध्यापक चुडामणि अधिकारीका अनुसार जतिसक्दो चाँडै सबै विद्यालयको भौतिक संरचना निर्माणका लागि सम्बन्धित निकायसँग कुरा भइरहेको छ । “त्यसका लागि विद्यालयमा भएको क्षति विवरण र खाका लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो । बद्रीविलासकै कक्षा १० की छात्रा लक्ष्मी श्रेष्ठ भन्नुहुन्छ, “जहाँ जसरी भए पनि पठनपाठन भइरहेको छ, भूकम्पसम्बन्धी शिक्षा पाएकी छु, ‘रिफ्रेस’ भएकी छु ।”

प्रतिक्रिया