शुक्रबार, माघ ७ २०७८
काठमाडौं २१:१०
वासिङटन डिसी 10:25

राष्ट्रपतिबाट आज नुवाकोटमा भूकम्पबाट पुगेको क्षतिको स्थलगत अवलोकन

इनेप्लिज २०७२ जेठ २४ गते १४:३८ मा प्रकाशित

Rss_Images_1433680511377_KK_nuwakot_rastapati rambaran yadav1नुवाकोट, २४ जेठ । राष्ट्रपति डा रामवरण यादवले भूकम्पबाट वैशाख १२ तथा त्यसपछि नुवाकोटमा पुगेको क्षतिको आज स्थलगत अवलोकन गर्नुभयो ।

हेलिकोप्टरबाट गृहमन्त्री र दलका नेतासहित आउनुभएका राष्ट्रपतिले भूकम्पबाट क्षति पुगेका विभिन्न स्थानको अवलोकन गर्दै सबै नेपाली एकताबद्ध भएर विपत्तिको सामना गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति यादवले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनालाई अवसरका रुपमा लिँदै सरकारले तत्काल पुनःस्थापनामा जोड दिन प्रयास थाल्नुपर्ने सुझाव दिनुभएको छ ।

एकता, संयमता, धैर्यता नै नेपालीको विशेषता भन्दै ध्वस्त भएका संरचनालाई पहिलेकै अवस्थामा ल्याउन सरकारले लिने नेतृत्वमा जनताहरुलाई पनि एकीकृत हुन उहाँले आग्रह गर्नुभयो । राष्ट्रपति यादवले पछिल्लो दश वर्षमा मुलुकमा आएको परिवर्तनमा राजनीतिक दललाई जनताले दिएको साथको उपलब्धि ऐतिहासिक रहेको भन्दै भूकम्पले पुर्‍याएको क्षतिमा पनि सम्बद्ध सबैपक्ष एकै स्थानमा उभिएर राष्ट्र निर्माणको अवसरका रुपमा लिनुपर्ने बताउनुभयो ।

राष्ट्रपतिसँगै भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गर्न नुवाकोट भ्रमणमा रहनुभएका उपप्रधान मन्त्री तथा गृहमन्त्री बामदेव गौतमले सरकारले प्राकृतिक प्रकोपको सामना डटेर गरेकाले धेरै क्षति हुनबाट जोगाएको दाबी गर्नुभयो । अनपेक्षित रुपमा आएको विपत्तिको क्षतिलाई कम गराउन सरकारले देखाएको क्रियाशीलताले त्यसपछि जनजीवन सामान्य बनाउन सक्षम भएको जिकिर गर्नुभएको छ ।

गृहमन्त्री गौतमले विपत्तिसँगै सरकारको कमजोरी औँल्याउनेहरुले त्यसपछि महामारीलगायतका घटनाक्रम जोड्दै सरकारको आलोचना गर्नेहरु अहिले सरकारको क्रियाशीलताले मौन रहेको टिप्पणी गर्नुभयो ।

उहाँले राहत वितरणमा अनियमितता गर्नेलाई छानबिन गर्ने बताउनुभएको छ । कसैले भ्रष्टाचार गरेमा नेपालमा कारबाही गर्ने निकाय धेरै भएकाले भ्रष्टाचारी कसैलाई पनि नछोड्ने चेतावनी दिनुभयो ।

थानसिंह छहरेको जस्ताकाण्डलाई जोड्दै उपप्रधान मन्त्री गौतमले प्रधानमन्त्रीको निर्देशनविपरीत कसैले अनियमितता गरेको ठहरिएमा हदैसम्मको कारबाही हुने चेतावनी पनि दिनुभयो ।

राष्ट्रपति, गृहमन्त्रीसहित मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, नेकपा (माले) का अध्यक्ष सिपी मैनाली तथा सुरक्षा अङ्गका प्रतिनिधिले भूकम्पले क्षति पुर्‍याएको चौघडा गाविस तथा समग्र जिल्लाको हेलिकोप्टरबाट अवलोकन गर्नुभएको थियो ।

भूकम्पबाट नुवाकोटमा एक हजार ९३ जनाको मृत्यु भएको छ भने ५५ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति पुगेको छ ।

प्रतिक्रिया