छ प्रदेशमा सहमति हुन्छ: उपसभापति पौडेल

इनेप्लिज २०७२ जेठ २४ गते १२:३० मा प्रकाशित

ramchandra-paudelचितवन, २४ जेठ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले छ प्रदेशमा दलहरुबीचमा सहमति हुने बताउनुभएको छ ।

नामकरण प्रदेश सभाले र सीमाङ्कन सङ्घीय आयोगले गर्ने गरी छ प्रदेशमा दलहरुबीचमा सहमतिको अन्तिम छलफल भइरहेको नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

प्रमुख दलहरु सहमतिको अन्तिम चरणमा पुगेको बताउँदै उहाँले अग्निपरीक्षाको घडीमा दलहरु रहेकाले सहमतिको बाटो रोज्न आग्रह गरेर आफू बाहिरिएको उल्लेख गर्नुभयो ।

उपसभापति पौडेलले अहिलेको समयमा सबै एकढिक्का हुनका लागि राष्ट्रिय सरकारको कुरा उठेको भन्दै संविधान र भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण अहिलेको महत्वपूर्ण काम भएको धारणा राख्नु भयो ।

संविधान निर्माणपछि पाँचवटै पदमा को उपयुक्त हुन्छ त्यस विषयमा छलफल हुने भन्दै उहाँले अहिले नेतृत्व परिवर्तन गरी राष्ट्रिय सरकारको कुरा नउठेको स्पष्ट पार्नुभयो ।

सशक्त प्राधिकरणको निर्माण गरी भौतिक पुनःनिर्माणमा जुट्नुपर्ने अवस्था आएको भन्दै उपसभापति पौडेलले २१औँ शताब्दी सुहाउँदो बस्ती निर्माणमा सबै दल, सरकार र जनता जुट्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “भूकम्पले सारा ध्वस्त भएको छ एकजुट भएर पुनःनिर्माणमा जुट्नुपर्छ ।

प्रतिक्रिया