भूकम्पले निम्त्याएको नेपाली स्वाभिमान

इनेप्लिज २०७२ जेठ २३ गते १२:४८ मा प्रकाशित

sanjuphoto

“I have many problems in my life, but my lips don’t know that . They always smile- Charlie chaplin ( मेरो जीवनमा धेरै समस्या छन् तर पनि मेरा ओठले त्यो देखाउदैन । सधै हासिरहन्छ । )

बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले नेपाली जनतामा भय र त्रास निम्त्याएको छ । धेरैको पाल मुनीको बास छ । तर पनि नेपालीमा भविष्यप्रति ठूलो आश छ । यो प्रलयकारी दैवी प्रकोपलाई विर्सेर हातेमालो गर्दै गाउँलेहरु हसिलो मुहारमा जस्तापाता र पाल हाल्नमा ब्यस्त देखिन्छन् । भूकम्पले ल्याएको यो समुदायिक भावना अहिले मेरा विदेशी मित्रको लागि अध्ययन र प्रेरणाका विषय बनेको रहेछ ।

चार्लीले भनेजस्तै धेरै समस्या भएर पनि हसिलो देखिने त्यो मुहार मेरा साथीको लागि आश्चर्यको विषय पनि बनेको छ । भूकम्पपछि जन्मीएको नेपालीको स्वाभिमानले विश्वमा एउटा राम्रो सन्देश दिएको छ । सर्बस्व गुमाएर पनि सुन्दर भविष्यको कल्पना गर्दै आफ्नो घर आफै बनाउन जुटेका नेपालीको स्वभावको मेरो केही युरोपेली र अमेरिकन मित्र बयान गर्दै थिए ।

भूकम्पपछि सामाजिक सञ्जालमा भेटिएकी नेदरल्याण्ड्की रोशना बारले भनिन् “सामाजिक, आर्थिक, पारिवारिक जस्तो सुकै कठिन परिस्थितिमा पनि हसिलो मुहारमा देखिने नेपालीको स्वभाव मेरो अहिले जीवनको प्रेरणाको श्रोत भएको छ । ”

म एता पराकम्पनको महसुस गर्दै थिए । उनले उताबाट हौसला थप्दै भन्दै थिइन् ( “विनाशकारी भूकम्पमा देखाएको एकता, साहस, धैर्य र स्वाभिमानले अहिले विश्वलाई चकित बनाएको छ ।”

केही समय अगाडि नेदरल्याण्डन्स् भ्रमणको क्रममा भ्यास्ट्रिच युनिर्भसिटीमा रोशनासंग मेरो भेट भएको थियो । फेसबुकले मित्रताको सम्बन्ध जीवन्त बनाएपनि लामो कुरा भने हुन पाएको थिएन । बैशाख १२ गते पछाडि बारम्बार धेरै विषयमा उनी मसंग जिज्ञासा राख्ने गर्थिन् । यत्रो ठूलो विनाशकारी भूकम्पमा पनि हतासको मनसिकतामा नदेखिएका नेपालीको अनुहार धेरैको अध्ययन र जिज्ञासाको विषय बनेको सुनाउदै थिइन् ।

बास्तवमा नेपालमा गएको यो विनाशकारी भूकम्पपछि धेरै युरोपेली, अमेरिकीलगायत विदेशी नागरिकलाई नेपालीको स्वभाव र स्वाभिमानले आश्चर्य चकित नै बनाएको रहेको । किन हो त्यसको उत्तर खोजी गर्नेतर्फ म लागे ।

भूकम्पले सेना र प्रहरीको घर भत्कीएकोे छ । परिवार बिस्थापित भएका छन् । तर पनि उनीहरु देश र जनताको लािग रात दिन खटिरहेका छन् । सिंहदरबारमा अधिकाशं निजामती कर्मचारी पालमा बसेर भएपनि काम गरिरहेका छन् । २४ घण्टा नै जनताको लागि जुनसुकै विकट गाउँमा गएर पनि कर्मचारी काम गर्न तयार देखिन्छन्् । कसैलाई दुर्गम भत्ता चाहिएको छैन । बरु आफूले दिन रात काम गरी खाई पाई आएको तलब पनि कटाएर भूकम्प पिडितलाई दिएका छन् ।

देशको यो कठिन घडीमा विदेशमा सुविधासम्पन्न जीवन यापन गरिहेका नेपाली पनि जन्मभूमी फर्कीरहेका छन् । युरोप, अमेरिका, अष्ट्रेलिया बिर्सेर सिन्धुपाल्चोक, दोलखा र गोर्खाका अत्यन्त भूकम्प प्रभावित जिल्लामा पुगिरहेका छन् । विदेशको नागरिकता बिर्सेर नेपाली बनाउने संकल्प स्वयं नेपालीले नै गरिरहेका छन् । विदेशमा दुःख गरी कमाएको डलरको लोभ नगरी गैर आवासीय नेपाली भन्दैछन्, ‘हामी एउटा सिंगो गाउँ नै बनाइदिन्छौ ।’

विदेशमा रगत, पसिना बनाइरहेका हजारौ नेपालीले स्वदेशमा नै काम गर्ने इच्छुक छन् । खाडीमा रहेका कयौ नेपाली देश फर्किरहेका छन् । सिन्धुपाल्चोक, धादिङ, दोलखा, गोर्खाजस्ता अति प्रभावित जिल्लामा गएर उनीहरु काम गरिरहेका छन् । भूकम्पपछि नेपालीमा घर, गाउँ र देश बनाउने दृढता र संकल्प थप मजबुत हुदै गएको छ । विदेशीको लागि भने नेपालीको सबैभन्दा ठूलो स्वाभिमान र आश्चर्यको विषय यो नै रैछ ।

त्यो कठिन परिस्थितिमा पनि सिएनएनलाई हसिलो अनुहारमा कसरी नेपालीले अन्तर्वाता दिन सकेको कुरालाई जोड्दै अमेरिकाका डेभिड भन्दै थिए’( “घर ढलेको छ । खाना र बासको अत्तोपत्तो छैन । तर मुहारमा हतासको मानसिकतामा देखिदैन । पिडा लुकाएर भएपनि संचारमाध्यममा हसिलो अनुहारमा सरकारसंग राहतको माग गरिरहेका छन् । घर, गाउँ र देश बनाउने दृढता र संकल्प अझ पनि मजबुत रहेछ । सिन्धुपाल्चोक, गोर्खा र दोलखाका जनता साचिनै महान् छन् । ”

बैशाख १२ गतेको भूकम्पपछि नेपाल अािर्थक रुपले दश बर्ष पछाडि जाने विज्ञहरुको ठम्याई छ । विश्वकै गरिब देशको सूचीमा नेपाल समावेश हुदैन । त्यतिमात्र हैन बसोवासको दृष्टिले नेपालको राजधानी विश्वकै जोखिमपूर्ण शहरमा पर्दैछ । तर नेपालीको सामुदायिक भावनाले नेपाल फेरी माथि उठ्न दश बर्ष पनि नलाग्ने विदेशीको भनाई छ । एक आपसमा मिलेर सुन्दर नेपाल बनाउन परिकल्पना सहितको नेपाली गरेको यो हातेमालो नै भोलीको नयाँ नेपाल हो, डेभिडले भने ।

देश अब फेरी माथि उठ्ने आशामा स्वयं जनता रहेको जनाउदैँ मलेसियाका ची योङ भन्दछन्, “नेपाल बनाउने परिकल्पना अब नेपालीले नै देख्नुपर्छ । सधै विदेशी सहयोग र सहायतामा निर्भर नेपालीले अब आफ्नो देश आफै बनाउनुपर्छ ।

भूकम्पमा परी आठ हजार भन्दा बढी नेपालीको निधन भएको छ । लाखौं नेपाली विस्थापित भएको छन् । कतिपयको परिवार आफन्त खोज्न छटपटाइरहेका छन् । करोडौं नेपालीको आखामा आशु छ । यस्तो कठिन परिस्थितिमा पनि विदेशीको आखामा भने नेपाली स्वाभिमानले नेपाललाई जीवित राखेको छ । नेपाल हावापानी र भुगोलले जस्तोसुकै बेदना र पिडा दिएपनि अब आफ्नो देश आफैले बनाउनुपर्छ ।

यो अबस्थामा देश र गाउँ घोडेर भाग्ने नभई देश बनाउन हामी सबै जुट्नुपर्छ । विदेशीले देखेको जस्तो स्वाभिमानलाई कालान्तरसम्म जीवन्त राख्नुपर्छ । आसुलाई हासोमा परिणत गर्नु सक्नुपर्दछ । जय देश । जय जनता । जय स्वाभिमान ।

प्रतिक्रिया