आफ्नै स्रोत र साधनबाट पुनःनिर्माण अगाडि बढाउनुपर्छ: प्रचण्ड

इनेप्लिज २०७२ जेठ २३ गते १२:२४ मा प्रकाशित

prachanda-babu1ललितपुर, २३ जेठ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भूकम्पबाट प्रभावित क्षेत्रको पुनःनिर्माणमा नेपालको आफ्नै साधन र स्रोतलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘गोरखा भूकम्प’ले क्षतिग्रस्त ललितपुरको पथप्रदर्शक मावि बडीखेलमा एमाओवादीको राष्ट्रिय श्रम अभियानले तयार पारेको अस्थायी संरचना हस्तान्तरणका लागि आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफ्नै पौरख र सीपले नयाँ निर्माण गर्नुपर्ने र पुनःनिर्माणका लागि नेपाली आफँै सक्षम छन् भन्ने देखाउनुपर्ने बताउनुभयो ।

उहाँले भारत, चीनलगायत मित्र राष्ट्रले उपलब्ध गराउने सहयोग नेपालको आवश्यकतामा आधारमा मात्रै लिनुपर्ने र प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा परेको शोक र पीडालाई राष्ट्रिय शक्ति र अभियानमा बदल्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री दाहालले प्राकृतिक तथा राजनीतिक सङ्कटपछि विश्वका धेरै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “नयाँ राष्ट्रिय एकता कायम गर्ने अवसर आएको छ, यसले नेपाल र नेपाली जनताबीच राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ, हामीले यसलाई अवसरका रुपमा लिनुपर्छ ।”

प्रमुख राजनीतिक दलबीच संविधानमा सहमति गरेर जनतालाई दिने यतिखेरको प्रमुख आवश्यकता रहेको भन्दै उहाँले भन्नुभयो – ‘‘झन्डा हल्लाउने, मन्त्री बन्ने प्रधानमन्त्री फेर्ने अभियानमा एमाओवादी छैन, संविधानमा सहमति नभइकन केही हुँदैन भन्ने सबै दललाई परेको छ, सरकार अहिलेको आवश्यकता होइन, संविधान र पुनःनिर्माण अहिलेको आवश्यकता हो ।’’

दलहरुले नयाँ राष्ट्रिय एकता प्रदर्शन गरेर लामो समयदेखि अवरुद्ध संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउने र सहमतिका आधारमा संविधान जारी गरी एकीकृत भएर नवनिर्माणमा जुट्नुपर्ने उहाँको भनाइ थियो ।

एमाओवादीका स्थायी समिति शक्तिबहादुर बस्नेतको नेतृत्वमा रहेको राष्ट्रिय श्रम अभियानको टोलीले सो विद्यालयको १२ वटा अस्थायी कक्षाकोठा तयार पारेको छ । एमाओवादीले यसअघि नै हरिसिद्धि, बाडेगाउँलगायत स्थानमा अस्थायी आवासस्थल तथा विद्यालयको अस्थायी संरचना तयार पारिसकेको छ ।

अल्पसङ्ख्य पहरी जातिको बाहुल्य भएको सो क्षेत्रमा भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । अस्थायी आवास तथा विद्यालय निर्माणका लागि एमाओवादीको जिल्ला पार्टी, जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ता परिचालन भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल पहरीले श्रम अभियान टोलीले विद्यालयको अस्थायी संरचना निर्माण गरेको जानकारी गराउनुभयो । विद्यालयको अस्थायी भवन निर्माणका लागि एमाओवादी र किराती याक्थुम चुम्लुङले १५० बन्डल जस्तापाता उपलब्ध गराएको थियो ।

प्रतिक्रिया