भूकम्प प्रभावितलाई राहत र परिचयपत्र वितरण सुरु

इनेप्लिज २०७२ जेठ २३ गते १:२८ मा प्रकाशित

कावासोती, २३ जेठ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले भूकम्प प्रभावितलाई राहत रकम र परिचयपत्र वितरण शुक्रबारदेखि सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको उपस्थितिमा देवचुली नगरपालिका– १ केउरेनीबाट राहत रकम र भूकम्प प्रभावितलाई परिचयपत्र वितरण सुरु गरिएको हो ।

पूर्ण क्षति भएका परिवारलाई रु १५ हजार र आंशिक क्षति भएका परिवारलाई रु तीन हजारको दरले राहत रकम वितरण गरिएको हो ।

नवलपरासीमा भूकम्पका कारण ४४६ घरमा पूर्ण र तीन हजार ३४३ घरमा आंशिक क्षति पुगेको छ । तीमध्ये २९७ परिवारका दुई हजार हजार २१७ जना विस्थापित भएका छन् ।

पहिलो चरणमा भूकम्पबाट धेरै क्षति पुगेको देवचुली नगरपालिकाबाट राहत रकम वितरण सुरु गरिएको हो । देवचुली नगरपालिकामा मात्रै १०२ घरमा पूर्णरुपमा र २६५ घरमा आंशिक क्षति पुगेको छ ।

जिल्लामा भूकम्पपीडितका लागि रु तीन करोड राहत रकम आवश्यक परेकोमा पहिलो चरणमा रु एक करोड प्राप्त भएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा देवचुली नगरपालिकासहित अर्खला, देउराली र मैनाघाट गाविसमा राहत रकम वितरण गरिनेछ । गृह मन्त्रालयबाट थप राहत रकम प्राप्त भएपछि अन्य प्रभावितलाई पनि क्रमश वितरण गरिने ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया