मंगलबार, माघ ४ २०७८
काठमाडौं १८:३३
वासिङटन डिसी 07:48

राहत निष्पक्ष रुपमा सबैले पाउन्: राष्ट्रपति यादव

इनेप्लिज २०७२ जेठ २२ गते १२:३५ मा प्रकाशित

Rambaran-Yadavचौतारा, २२ जेठ । राष्ट्रपति डा रामवरण यादवले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको भ्रमण गर्नुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरद्वारा आज चौतारास्थित गोरखनाथ गणमा पुग्नुभएका राष्ट्रपति डा यादवले भूकम्पपछि जिल्लामा भइरहेको उद्धार र राहत वितरणबारे सो गणका गणपति सुरेश कार्की र प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीसँग जानकारी लिनुभएको प्रहरी नायब उपरीक्षक दीपक खरेलले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा प्रजिअ ज्ञवालीले जिल्लामा राहत वितरण कार्य निष्पक्ष रुपमा भइरहेको र जिल्लाका सबै गाविसमा खाद्यान्न, त्रिपाललगायतका सामग्री पुगेको राष्ट्रपति डा यादवलाई जानकारी गराउनुभयो ।

राष्ट्रपति डा यादवले राहत वितरण कार्य निष्पक्ष रुपमा गर्न आग्रह गर्दै जिल्लाका विकट बस्तीमा पनि राहत पु¥याउन सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभयो ।

वर्षा सुरु हुने समय भएकाले विकट क्षेत्रमा वर्षाअघि नै पर्याप्त रुपमा खाद्यान्न जगेडा गर्नसमेत राष्ट्रपति डा यादवले उहाँहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

उद्धार, राहत वितरण, जोखिममा परेका बस्ती र स्थानान्तरण गर्नुपर्ने पीडितका समस्याबारे जानकारी लिँदै राष्ट्रपति डा यादवले जोखिमका बस्तीलाई वर्षाअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल थाल्न आग्रह गर्नुभयो ।

आजै राष्ट्रपति डा यादव चौताराबाट हवाई निरीक्षण गर्दै विकट हिमाली गाउँ लिस्ती हुँदै दोलखा पुग्नुभएको थियो ।

राष्ट्रपतिका साथ सहरी विकासमन्त्री डा नारायण खड्का, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया