मंगलबार, माघ ४ २०७८
काठमाडौं १९:१८
वासिङटन डिसी 08:33

सुरक्षित बासस्थान तत्काल आवश्यक: उपप्रधानमन्त्री गौतम

इनेप्लिज २०७२ जेठ २२ गते १२:२८ मा प्रकाशित

bamdev_20140625010346ललितपुर, २२ जेठ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले भूकम्पबाट पीडितलाई तत्काल सुरक्षित बासस्थान आवश्यक भएको बताउनुभएको छ ।

नेकपा (एमाले)का स्वयम्सेवकले श्रमदान गरिरहेको स्थान कार्यविनायक नगरपालिका वडा नम्बर १५ र १६ को आज अवलोकन गर्दै उहाँले वर्षात् समाप्त भएपछि न्यूनतम ५० वर्षसम्म धान्न सकिने खालको बासस्थानको निर्माण गरिनुपर्ने र अब निर्माण हुने घर पूर्णरुपमा भूकम्पप्रतिरोधात्मक अनुसार निर्माण हुनुपर्ने धारणा राख्नु भयो ।

उहाँले पीडितलाई स्थायी बासस्थान निर्माणका लागि वर्षात्पश्चात् सरकारले अनुदानलगायत सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँले नेकपा (एमाले)का कार्यकर्ताले प्रभावित क्षेत्रमा गरेका श्रमदानको उच्च मूल्याङ्कन गर्नुभएको थियो । उहाँले एमालेलगायत वर्तमान परिस्थितिमा सबै राजनीतिक दलका कार्यकर्ता पीडितलाई सहयोग गर्न गाउँ–गाउँ पुगिरहेकामा प्रशंसा गर्नुभयो ।

एमाले क्षेत्र नम्बर १ का अध्यक्ष चेतनाथ सत्तजेलको नेतृत्वमा हालसम्म यहाँ ९० वटा अस्थायी टहरा निर्माण भइसकेको जनाइएको छ । उहाँले यस क्षेत्रमा न्यूनतम एक महिना निरन्तररुपमा श्रमदान गरिने बताउनुभयो ।

प्रतिक्रिया