शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०१:५०
वासिङटन डिसी 16:05

हुरीले त्रिपाल उडायो, साँझ परेपछि सर्प आउँछ, हामी कहाँ जाने ?

इनेप्लिज २०७२ जेठ २२ गते ४:३६ मा प्रकाशित

huri-batasफुटुङ (काठमाडौँ), २२ जेठ । ‘‘साँझ पर्न नलाग्दै हुरी चल्छ, पानी पर्छ , रातभरी पाल समातेर बस्ने गरेका छौँ । सरकारले राहत वितरण गर्‍यो भन्छ , खै हामीले पाएका छैनौँ । भैँचालो आएको पनि लामो समय भयो, अहिले पनि त्रिपालमा नै जीवन गुजारेका छौँ । हामीलाई अरु केही चाहिएन, बर्षा धान्नका लागि जस्तापाताको व्यवस्था भए सहज हुने थियो ।’’ यो भनाइ हो तारकेश्वर नगरपालिका – १९ फुटुङकी ६० वर्षीया कान्छी परियारको ।

गोरखा भैँचालोले फुटुङका अधिकांश पूराना र माटाले बनेका घर भत्किएका छन् । बलिया र राम्रा भनिएका घरहरू पनि भत्किएका छन् । खुला स्थान र खेतका गरामा पाल हालेर बस्नेहरूको सङ्ख्या पनि उल्लेख्य छन् ।

राहतको प्रतीक्षा र चाहना पनि उत्तिकै छ स्थानीयवासीको । सक्नेहरूले आफैँ अस्थायी आवासस्थल बनाएका छन् । नसक्नेहरू पाललाई नै आफ्नो आवासस्थल बनाएर बसेका छन् । विभिन्न दाताले दिएको चामल, दाल, नुन तेलका भरमा दैनिकी चलेको छ ।
घरमा भएका र राखिएका अन्न सबै भत्केको घरमा परेपछि सहयोगी मनहरूले दिएको खाद्यान्नको भरमा जीवन धानिरहेका स्थानीयवासी बर्षाकाल धान्नैका लागि भएपनि अस्थायी आवासको जाहो होस् भन्ने पक्षमा छन् ।

कान्छी परियार ती मध्येको एक हुनुहुन्छ । उहाँले राहतको चामल पाउनुभएको छ, दाल नुन चिनी पनि उहाँका लागि प्रर्याप्त छ, तर बर्षा धान्नका लागि पाल बाहेक उहाँसँग अरु केही छैन । उहाँ भन्नुहुन्छ ‘‘ लौन कहीँबाट प्राप्त हुन्छ भने एक बण्डल जति जस्तापाताको व्यवस्था होओस् ।’’

स्थानीयबासी देवलाल महर्जनको साँझ परेपछिको नियमित दैनिकी जस्तै बनेको छ, साँझ परेपछि पाललाई कसरी नउड्ने बनाउने । ‘‘हावाहुरीले चार पटक पाल उडायो, नगरपालिकाले दिएको पाल टुक्रा–टुक्रा भएको छ । रात साँझ पानी परेपछि ठूलो समस्या हुने गरेको छ । साना बालबच्चा छन्, जाउ भने अन्यत्र जाने ठाँउ छैन । ठूलो समस्यामा नै परियो ।’’ महर्जनले रासससँग भन्नुभयो ।

दातृ संस्थाले दिएको सहयोग रकम सदुपयोग होस् भन्ने उहाँको चाहना छ । राज भुसालको पीडा पनि उस्तै छ । तारकेश्वर नगरपालिका मनमैजुमा रहेको कच्ची घर भैँचालोले भत्काइदिएपछि खुला स्थानमा बस्दै आउनुभएका भुसालको पाल पाँच पटक हावाले उडाइदियो । च्यातिएको पाललाई जोडजाम गरेर खुला स्थालमा बस्दै आएका उहाँको परिवारलाई साँझ परुेपछि हुरी बताससँगै सर्पले समेत दुःख दिने गरेको छ ।

भुसाल भन्नुहुन्छ ‘‘ हावाहुरी र सर्पबाट जोगाउनका लागि मात्रै भएपनि तत्काल जस्तापाताको व्यवस्था होओस् । खानलाई समस्या छैन, जे जसो भएपनि दाताले दिएको खाद्यान्नबाट जीवन चलेको छ, खाने चिज मात्रै भएरपनि हुँदो रहेनछ, महत्वपूर्ण त बस्ने आवास नै रहेछ ।’’

निर्मला दर्जी तीन महिनाको सुत्केरी हुनुहुन्छ । भैँचालोले बस्ने घर भत्काइदिएपछि पालको भरमा जीवन धानीरहनु भएकी उहाँलाई बर्षा धान्ने ओतको जरुरी छ । ‘‘कलिलो बच्चा छ, कहाँ जाने होला, जस्तापाता पाए बर्षा त धानिन्थ्यो होला नि ?’’ परियारले भन्नुभयो ।

हावाहुरीले च्यातिदिएको पालमुनि आफ्नो परिवारसहित बस्दै आउनु भएकी कान्छी परियारलाई खाद्यान्नको अभाव छैन । राहत बाड्न आउनेले चामल मात्रै दिए, नुन तेल दिए । खानलाई समस्या छैन । तर हुरीले पटक–पटक पाल उडाइदिएपछि रातभर रुझ्दै बसेको सुनाउनुहुने परियार सरकारसँग बर्षा धान्ने सुरक्षित आवासको जोहो गरिदिन आग्रह गर्नुहुन्छ ।

निर्माण गर्दागर्दैको घर भत्किएर पुनः निर्माणमा जुट्नु भएका अर्का स्थानीयवासी रामप्रसाद दाहाललाई सरकारले असार मसान्तसम्म स्थायी प्रकृतिको घर नबनाउन गरेको आग्रह थाहा नभएको बताउनुहुन्छ । ‘‘ सुनेको त हो, बनिसकेको घरको गारो भत्कियो, बर्षा लागिहाल्यो, कहाँ बस्ने भनेर पुनः बनाउन लागेको हो, नबनाउनु भनेको त मलाई थाहा भएन ।’’ दाहालले भन्नुभयो ।

फुटुङका अर्का स्थानीवासी बुद्ध महर्जन दाताले दिएको जस्तापाता प्रयोग गरेर गोलो घर बनाएको बताउनुहुन्छ । ‘‘पानी नपरुन्जेल त जहाँ बसेपनि हुन्थ्यो, पानी पर्न थालेपछि कहाँ जाने भनेर गोलो घर बनाए ।’’

फुटुङ बजारमा स्टेसनरी पसल सञ्चालन गर्दै आएका गणेशप्रसाद अधिकारी राहतको नाममा स्थानीयले पुग्दो मात्रामा चामल पाएको भएपनि जस्तापाता भने नपाएको बताउनुहुन्छ । पानीसँगै आउने हावा हुरीले बिचल्ली बनाएको बताउँदै स्थानीयवासी बिन्दु रोका पनि राहतमा चामल होइन, ओतका लागि जस्तापाताको व्यवस्था होओस् भन्ने चाहना राख्नुहुन्छ ।

प्रतिक्रिया