गजुरी (धादिङ), २१ जेठ । भूकम्पले भत्केका घरमा परेर नष्ट भएका बिजुली मिटर नेपाल विद्युत् प्राधिकरणले निःशुल्क जडान गरी दिने तयारी गरेको छ ।
विद्युत् प्राधिकरण धादिङले धादिङका भूकम्पपीडित ग्राहकलाई राहतस्वरुप मिटर बक्स निःशुल्क दिने तयारी गरेको हो ।
प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म धादिङ जिल्लामा १०० वटा मिटर नष्ट भएको निवेदन परेका छन् ।
भूकम्पले घर भत्केर मिटर ध्वस्त भएका ग्राहकलाई राहतस्वरुप नयाँ मिटर जडान तथा मर्मतको सुविधा दिन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।
घर भत्केका वा मिटरमा क्षति पुगेको ग्राहकलाई प्राधिकरणले तोकेको निकायबाट सिफारिस ल्याउनसमेत जिल्ला विद्युत् प्राधिकरणका प्रमुख मनोजकुमार झाले आग्रह गर्नुभयो ।
अहिले एउटा मिटरको मूल्य रु एक हजार ३९० र जडान खर्च रु १९० पर्छ । यस्तै घर ध्वस्त भई पुनःमिटर जडान गर्न नसक्ने ग्राहकलाई पुरानै कागजातकै आधारमा निःशुल्क मिटर जडान गरिने जनाएको छ ।
प्रतिक्रिया