शनिबार, साउन ९ २०७८
काठमाडौं २३:३१
वासिङटन डिसी 13:46

क्रिकेट बोर्ड चाँडो गठन हुने

इनेप्लिज २०७२ जेठ २० गते १३:४८ मा प्रकाशित

Purushottam-Paudelकाठमाडौँ, २० जेठ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया चाँडै अघि बढाइने बताउनुभएको छ ।

रिपोर्टर्स क्लवले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले आफ्नो पदावधि समाप्त हुने बेलामा विभिन्न खेलकुद सङ्घ गठन तथा विघटनको प्रस्ताव गर्नु औचित्यहीन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोर्ड गठन गर्न मन्त्रालयले ऐन परिवर्तन गर्नुपर्छ, खेलकुद परिषद् तथा सदस्यसचिवले बोर्ड गठन गर्ने होइन, यतिबेला यस्तो कुरा गर्नु लोकप्रिय हुन खोज्नु मात्रै हो ।” मन्त्री पौडेलले चार वर्षसम्म क्रिकेट सङ्घलाई समर्थन गर्ने सदस्यसचिव लामाले अहिले लोकप्रिय बन्न बोर्ड गठनको प्रस्ताव अघि सारेको विचार व्यक्त गर्नुभयो ।

मन्त्री पौडेलले नयाँ ढङ्गले क्रिकेटको विकासमा सोच्नु पर्ने आवश्यकता औँल्याउँदै क्रिकेट सङ्घमा एउटा प्रस्तावसमेत लेख्न नसक्ने असक्षम व्यक्तिले प्रतिनिधित्व गर्दा अन्तर्राष्ट्रिय तहबाट आउने करोडौँ रुपैयाँ गुमाउनु परेकोले अब नीति नियम तथा विधि बनाएर नयाँ बोर्ड गठन गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले सरकारले भूकम्पबाट ध्वस्त संरचना पुनःनिर्माणको लागि युवा शक्ति तथा पर्याप्त श्रम शक्तिको खाँचो रहेकाले देश विदेशमा भएका युवा सङ्गठित तथा उनीहरुलाई परिचालन गर्न कार्यविधि निर्माण गरिएको बताउनुभयो । उहाँले नेपाल स्काउट, विभिन्न सङ्घ संस्था, सञ्जाल र राजनीतिक दलका कार्यकर्तालाई आबद्ध गरेर युवा परिचालन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया