बुधबार, साउन २० २०७८
काठमाडौं ०६:३०
वासिङटन डिसी 20:45

पर्यटनमा भूकम्पको पराकम्पन

इनेप्लिज २०७२ जेठ २० गते १२:३२ मा प्रकाशित

sanjok

विश्व प्रसिद्ध अनलाई ‘ट्रीप एडभाइजर’ ले घुम्नै पर्ने संसारका प्रमुख शहरको सूचीमा राजधानी काठमाडौंलाई राखेको थियो । अमेरिकाको प्रसिद्ध पत्रिका ‘द न्युयोर्क टाइम्स’ मा विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुर दरबार स्क्वायर घुम्दाको सुन्दर अनुभुति प्रस्तुत हुन्थे । बीबीसी, सिएनएनले मन्दिरै मन्दिरको शहरको रुपमा काठमाडौंलाई चित्रण गर्दै सास्कृतिक, धार्मिक र ऐतिहासिक पर्यटकीय महत्वको स्थानको रुपमा महत्व दिन्थ्यो । राष्ट्रिय र अन्तराष्ट्रियस्तरका संचारमाध्यमको चर्चाको विषय बन्न विश्व सम्पदा सूचीमा सूचीकृत ९० प्रतिशत यस्ता सम्पदा हेर्दा हेर्दै ध्वस्त भएपछि पर्यटन ब्यवसायी अहिले कसरी नेपालको पर्यटन प्रवद्र्धन गर्ने भनेर चिन्ताको अबस्थामा छन् ।

वि.स २०७२ बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले नेपालमा ठूलो जनधनको क्षतिसंगै अर्थतन्त्रमा समेत गहिरो धक्का पुगेको छ । देशको धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं पर्यटकीय महत्वका धार्मिक सम्पदा ध्वस्त भएका छन् । पर्यटकीय रुपमा आकर्षित मानिने त्यस्ता सम्पदामा भूकम्पले क्षति पुगेपछि नेपालको अर्थतन्त्रमा समेत गहिरो प्रभाव पर्ने देखिन्छ । पर्यटकको प्रमुख रोजाई र आकर्षणको केन्द«को रुपमा रहेका त्यस्ता स्थानलाई भूकम्पको धक्काले प्रभाव पारेपछि त्यसको सिधा असर नेपालको पर्यटन क्षेत्रमा पुग्ने पर्यटन ब्यवसायीको आकलन छ ।

भूकम्पको कारण युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको बसन्तपुर दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वयार, स्वयम्भू, चागुँनारायाण मन्दिर, बुद्ध स्तुपा पशुपति क्षेत्रका केही भागमा समेत असर पुगेको छ । भुकम्पले राजधानी काठमाडौंको सर्वाधिक ठूलो र आकर्षण केन्द«को रुपमा रहेको धरहरा पनि ध्वस्त भएको छ । वि.स १९८१ सालमा भिमसेन थापाले धरहराको निर्माण गरेका थिए । वि.स १९९० सालको भूकम्पबाट भत्कीएको धरहराको पुननिर्माण गरिएको थियो । वि.स २०७२ सालको बैशाख १२ गते गएको भूकम्पको कारण भत्कीएको धरहरा फेरी त्यही रुपमा पुननिर्माण गर्न कति समय लाग्छ त्यसको अहिले एकीन गर्न सकिने अबस्था छैन । धरहरा मात्र हैन राजधानी काठमाडौको नामबाट बनेको काष्ठमण्डप पनि भूकम्पको कारण ध्वस्त भएको छ । मल्लकालिन र राणाकालीन समयमा बनेका काठमाडौं, भक्तपुर र ललितपुरका धेरै ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वका स्थान भूकम्पको कारण क्षतग्रस्त भएको छ ।

भूकम्पले मल्लकालिन राजा सिद्धीनरसिंह मल्लले बनाएको पाटनको कृष्ण मन्दिर, शाहकालिन राजा पृथ्वीनारायण शाहले निर्माण गरेको नौतल्ले दरबारको दुई तले पनि भत्कीएको छ । भूकम्पले भक्तपुरको काष्ठमाण्डप, स्वयम्भूको शालिक, शखंमूलको जगतनारायण मन्दिर, भक्तपुरको वत्सला मन्दिरसंगै पशुपतिनाथको मन्दिरको बाहिर भागको केही स्थान पनि चर्कीएको छ । यद्यपी विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिमा भने धेरै ठूलो क्षति पुगेको छैन ।
भूकम्पले भूपतीन्द« मल्लको शालिक, रानीपोखरी मन्दिर, जगन्नाथ मन्दिर, तलेजु भगवानको मन्दिर, त्रिपुरेश्वरको कालमोचन मन्दिर, जयवागेश्वरी मन्दिर, जैसीदेवल मन्दिर, बौद्धस्तुपाको मूल गजुर, बुङमती मन्दिरलगायत नेपालका थुप्रै पुरातात्विक, धार्मिक एवं पर्यटकीय महत्वका मठ, मन्दिर, पाटी पौवामा क्षति पुगेको छ ।

काठमाडौं मात्र नभएर राजधानी वाहिरको पर्यटकीय स्थानमा समेत ठूलो क्षति पुगेको छ । भूकम्पले पर्यटकको रोजाइमा पर्ने गरेको र्याफ्टिङ् र बन्जि जम्पिङको लागि प्रख्यात मानिएको सिन्धुपाल्चोकमा सबैभन्दा ठूलो क्षति पुगेको छ । भूकम्पले गाउँ पर्यटन प्रबद्र्धनको रुपमा सरकारले ल्याएको होमस्टेको अवधारणा पनि प्रभावित भएको छ । होमस्टेमार्फत पर्यटन प्रबद्र्धन गरिरहेका कतिपय पर्यटकीय महत्वका स्थानमा भूकम्पले ठूलो क्षति पुगेको छ । लम्जुङ, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरलगायतका स्थानका संचालनमा आइरहेको होमस्टे भूकम्पको कारण ध्वस्त भएका छन् ।

पदयात्रामा जाने पर्यटकको लागि आकर्षण लाङटाङसंगै भूकम्पको कारण सगरमाथा आरोहण समेत प्रभावित बन्य पुग्यो । भूकम्पको कम्पनले विश्वको सर्वोच्च शिखरमा हिमपहिरो गएपछि १८ जनाले ज्यान गुमाए भने कयौ घाइते भएका थिए । मुस्ताङका जोमसोलगायतका केही स्थान भासिए । भूकम्पले नेपालको समग्र अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको छ । नेपालका भत्तीएका र ध्वस्त भएका त्यस्ता संरचनाको पुननिर्माण गर्न १० अर्ब रुपिँया भन्दा बढी लाग्ने अनुमान गरिएको छ । अमेरिकाको भौगर्भिक सर्भेले भत्कीएका संरचना पुननिर्माण गर्न यत्रो रकम लाग्नु अनुमान गरेको हो । नेपालको कुल गा्रहस्थ उत्पादनको करिब आधा जस्तो हुन आउछ । यद्यपी सरकारले भूकम्पबाट ध्वस्त भएको भौतिक संरचनाको निर्माण गर्न दुई सय अर्बको कोष पनि खडा गरिसकेको छ ।

पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । एक अध्ययन अनुसार पर्यटनको नेपालको अर्थतन्त्रको कुल गा्रहस्त उत्पादनमा ४ प्रतिशतको योगदान छ । पर्यटन क्षेत्रबाट लाखौ नेपालीले रोजगार पाइरहेका छन् । सरकारले पर्यटन क्षेत्रबाट करोडौ रुपिँया रोयल्टी संकलन पनि गरिरहेको छ । भूकम्पको कारण ध्वस्त भएका ती विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय महत्वका त्यस्ता स्थानलाई चाडो भन्दा चाडो पुननिर्माण गर्न नसकिए नेपालको पर्यटन क्षेत्र धरासायी हुने ब्यवसायीको भनाई छ ।

विनाशकारी भूकम्प गएको ३८ दिनपछि विश्व सम्पदा सुचीमा सूचीकृत बोद्धस्तुपा पर्यटकका भने जेठ १८ देखि नै पर्यटकका लागि खुला गरिएपनि राजधानीका अन्य ६ सम्पदा भने जेठ ३२ देखि पर्यटकको लािग खुला गरिने तयारी हुदैछ । विदेशी संचारमाध्यममा विनाशकारी भूकम्पको सम्बन्धमा नकारात्मक सन्देश प्रवाह भइरहेको अबस्थामा पहिलो दिन नै बौद्धस्तूपाको ३८ जना पर्यटकले अवलोकन गरेका छन् । बौद्ध खुला गरिएको प्रचार नगरिएपनि अमेरिका, न्यानडा, युरोप, अष्टे«लिया र केही एशियाका पर्यटकको अवलोकनले अर्कोतर्फ सकारात्मक सन्देश पनि प्रवाह भएको छ ।

विनाशकारी भूकम्प गएको केही समय विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा अवलोकन गर्दा यो क्षेत्रमा १५ प्रतिशत मात्र क्षति भएको देखियो । भ्रमण कार्यक्रममा युनेस्कोले विश्व सम्पदामा सूचीमा सूचीकृत गरेका राजधानीका बौद्धलगायत चार सम्पदा भ्रमणको लागि सुरक्षित रहेपनि चागुनारायण मन्दिर भने सुरक्षाको दृष्टिले तत्काल खुला गर्नु ठिक नभएको देखिएको छ ।

अवलोकन भ्रमणको क्रममा इन्जिनियरको टोलीले बसन्तपुर दरबार स्क्वयार, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, पशुपतिनाथलाई ग्रीन सिग्नल दिएका छन् भने चागुँनारायण मन्दिरले रेड सिग्नल पाएको छ । स्वयम्भूलाई भने पहेलो सिग्नल दिइएको छ । पर्यटकीय दृष्टिले ५५ झ्याले दरबार, न्यातपोल, तलेजु, मन्दिर, कुमारी घरलगायत धेरै स्थान अझ पनि सुरक्षित छन् अन्तराष्ट्रिय संचारमाध्यममा यसको सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन । तसर्थ, पर्यटन क्षेत्रमा देखिएको यो भूकम्पको पराकम्पन कम गर्नको लागि राष्ट्रिय र अन्तराष्ट्रिय संचारमाध्यममा सकारात्मक सन्देश प्रवाह नगरिए यसले नेपालको अर्थतन्त्रमा ठूलो क्षति पुर्याउन सक्छ ।

 

प्रतिक्रिया