बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:२४
वासिङटन डिसी 16:39

इरानी पारमाणविक कार्यक्रमको सैनिक समाधान नभएको अमेरिकी राष्ट्रपतिको दाबी

इनेप्लिज २०७२ जेठ १९ गते १६:२७ मा प्रकाशित

barackobama2जेरुसेलम, १९ जेठ । अमेरिकी राष्ट्रपति बराक ओबामाले सोमबार प्रसारित एक अन्तर्वार्तामा इरानलाई सैनिक कारवाहीले नभई केबल सम्झौताले पारमाणविक हतियार प्राप्त गर्न रोक्नसकिने बताउनुभएको छ । उहाँले उक्त कुरा इजरायली जनतालाई लक्ष्य गरी बताउनुभएको हो ।

उहाँले आफूले कुनै आशामा नभई तथ्य, प्रमाण तथा विश्लेषणमा आधारित भएर रुजु गर्न सकिने र कडा सम्झौता इरानलाई पारमाणविक हतियार प्राप्त गर्न नदिनसक्ने सबैभन्दा राम्रो उपाय भएको सोचेको र प्रदर्शन गर्नसक्ने बताउनुभयो ।

इरानसँग जुनको अन्त्यसम्म सम्झौता गर्नुपर्ने अवधि निकै छिटो सम्पन्न हुनलाग्दा अमेरिकी राष्ट्रपति ओबामाले उक्त कुरा बताउनुभएको हो ।

उहाँले सैनिक समाधानले यो समस्या अन्त्य गर्न नसक्ने बताउनुभयो । उहाँले अमेरिकाले सैनिक समाधानमा भाग लिए पनि त्यसले इरानको पारमाणविक कार्यक्रमलाई अस्थायी रूपमा ढिलो बनाए पनि अन्त्य गर्न नसक्ने बताउनुभयो । उहाँले उक्त कुरा इजरायली च्यानल २ टीभीको अनुसन्धानात्मक कार्यक्रम उभ्दामा बताउनुभएको हो ।

इजरायलले इरानसँग पारमाणविक कार्यक्रमका विषयमा सम्झौता नराम्रो सम्झौता हुने र इरानलाई पारमाणविक बम प्राप्त गर्न नदिन सैनिक विकल्प टेबुलमा रहेको दाबी गरेको छ । इरानका विषयमा अमेरिकी राष्ट्रपति बराक ओबामा तथा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच सम्बन्ध तनावपूर्ण रहेको छ । परम्परागत नजिकको सम्बन्ध रहेको दुई मुलुकबीच इरान विवादको विषय बनेको छ ।

प्रस्तावित सम्झौता अनुसार इरानको पारमाणविक कार्यक्रम एक दशकका लागि रोक्का हुनेछ र यसका लागि इरानमाथि लागेको प्रतिबन्ध हटाइनेछ । इरानले आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गरेको छ । पश्चिमी मुलुकले यस कार्यक्रमबाट इरानले पारमाणविक हतियार निर्माण गर्ने आशङ्का गरेका छन् ।

इरानले पटकपटक इजरायललाई नष्ट गर्नुपर्छ भनी भनिरहेको अवस्थामा उसको पारमाणविक कार्यक्रम विश्वको शान्ति सुरक्षा तथा आफ्नै अस्तित्वका लागि ठूलो चेतावनी हुने दाबी गरेको छ । इरानको आफ्नै लामो दूरीको क्षेप्यास्त्र कार्यक्रम रहेको छ भने उसले लेबनानमा इजरायलविरोधी हेजबोल्लाह समूहलाई सहयोग गरिरहेको छ ।

उहाँलाई इजरायलले सूचना नगरिकनै सैनिक कारवाही गरेमा उहाँले त्यसमा कस्तो प्रतिक्रिया व्यक्त गर्नुहुनेछ भनी प्रश्न गर्दा आफूले यस्तो कुराको अनुमान नगर्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ओबामाले इजायली जनतालाई आफूले उनीहरूको चिन्ता बुझेको र आफूले उनीहरूको त्रास पनि बुझेको बताउनुभयो ।

प्रतिक्रिया