सडक जीर्ण भएपछि एम्बुलेन्स पुग्न समस्या

इनेप्लिज २०७२ जेठ १९ गते ३:५३ मा प्रकाशित

ambulanceपथरी (मोरङ), १९ जेठ । मोरङको कर्सिया–सोमबारे सडकखण्ड जीर्ण बनेका कारण एम्बुलेन्ससमेत पुग्न समस्या भएको छ ।

पञ्चायतकालमा निर्माण भएको सो सडक बालुवा बोक्ने ट्र्याक्टरका कारण कर्सिया बजारबाट पश्चिम–उत्तरस्थित वरियाती क्षेत्रमा धेरै खाल्डाखुल्डी परेको र भत्किएकाले एम्बुलेन्ससमेत छिर्न समस्या भएको गुनासो स्थानीयवासीले गरेका छन् ।

दैनिक ३०० भन्दा बढी ट्र्याक्टरले सो क्षेत्रबाट बालुवा ओसार्ने गरेका छन् । जिविस मोरङले प्रतिट्र्याक्टर २३० रुपैयाँ कर उठाउँदै आए पनि सडकको मर्मतसम्भारमा चासो नदिएको स्थानीयवासी सन्तलाल खवासको भनाइ छ । सडक भत्किएर सडकको बीच भागमा हिलोको ससाना तलाउ नै बनेको छ ।

सडकको गति बिग्रिएपछि सो बाटोबाट चल्ने चारवटा सार्वजनिक बससहित मोटरसाइकल चालक र अन्य सवारीसाधन चालकले समस्या झेल्नु परेको छ । सडकको मर्मतसम्भारका लागि स्थानीयवासी पटकपटक सरोकारवाला निकायमा धाउँदै आएका छन् । सो सडक भएर बालुवा, गिट्टी ओसार्ने ट्र्याक्टरबाट जिविस मोरङका अतिरिक्त स्थानीय क्लबले समेत सडक मर्मतका लागि भन्दै रसिद दिएरै रकम असुल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

सडक मर्मतका लागि सङ्कलन भएको सो रकम दुरुपयोग हुने गरेको स्थानीयवासीको आरोप छ । सडककै अवस्थाको कारण त्यस क्षेत्रमा दैनिकजसो ट्र्याक्टर पल्टिने गरेको र प्रसूतिको समस्या भएका महिलालाई अस्पताल लानुपर्ने अवस्थामा एम्बुलेन्ससमेत सो सडकबाट हिँड्न नसक्ने अवस्था रहेको बबियाविर्ता–९ का दीपक थापाको भनाइ छ ।

प्रतिक्रिया