कर्मचारी अभावमा सडक योजनाको अनुगमनमा समस्या

इनेप्लिज २०७२ जेठ १९ गते ०:५८ मा प्रकाशित

लहान, १९ जेठ । सडक डिभिजन कार्यालय लहानमा दरबन्दीअनुसारको इन्जिनियर र सबइन्जिनियर नहुँदा निर्माणाधीन सडक योजनाको अनुगमनको काम प्रभावित हुँदै आएको छ ।

उक्त कार्यालयमा कार्यालय प्रमुखसहित छ जना इन्जिनियर र १५ सबइन्जिनियर गरी २१ जनाको दरबन्दी रहे पनि दुई इन्जिनियर र दुई सबइन्जिनियर मात्र कार्यरत छन् ।

सरकारले सिरहासहित सप्तरी र उदयपुरमा समेत सडक निर्माण कार्यको जिम्मेवारी दिए पनि दरबन्दीअनुसारको इन्जिनियर र सबइन्जिनियरको पदपूर्ति नहुँदा समयमा योजनाको टेन्डर गर्न र निर्माणाधीन सडक योजनाको अनुगमन गर्न समस्या भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अनुठालालप्रसाद पटेलले जानकारी दिनुभयो ।

“पहिले कायम रहेको दरबन्दीअनुसारको कर्मचारी छैन, त्यसमा पनि तीनवटा जिल्लामा सडक योजना सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ”, प्रमुख पटेलले भन्नुभयो, “तीनवटा जिल्लामा सडक योजना छन् तर कर्मचारी नहुँदा योजना सञ्चालन गर्न सकिरहेको छैन, सञ्चालनमा रहेका योजनाको समेत अनुगमन र मूल्याङ्कन गर्न समस्या भइरहेको छ ।” पटकपटक दरबन्दी पूर्ति गर्न आग्रह गर्दै आए पनि हालसम्म दरबन्दी पूर्ति नहुँदा सहज रुपमा काम गर्न नसकिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया