बुधबार, साउन २० २०७८
काठमाडौं ०५:०६
वासिङटन डिसी 19:21

संविधान र विपत् व्यवस्थापनका लागि राष्ट्रिय सहमतिको सरकार: ओली

इनेप्लिज २०७२ जेठ १८ गते ११:२५ मा प्रकाशित

Oli After Meetingकाठमाडौँ, १८ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सबै दलको सहमतिमा संविधान बनाएर र विपत् व्यवस्थापन गर्न राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरिएको बताउनुभएको छ ।

भूकम्पपीडितको राहत र पुनःनिर्माणमा जारी पार्टीको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानका सम्बन्धमा आज पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा उहाँले एमालेको ध्यान सरकारमा नभई, शान्ति, लोकतन्त्र, सामाजिक एकता र समृद्धितर्फ केन्द्रित रहेको स्पष्ट गर्नुभयो ।

साथै उहाँले त्यसका लागि आवश्यक पर्ने सबै काम गर्न नेकपा एमाले तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “अहिले प्रधानमन्त्री बन्न वा पद छाड्न लोभ गर्नु हुँदैन, राष्ट्रिय एकता र नवनिर्माणका लागि सबै तयार हुनुपर्छ ।”

उहाँले अभियानलाई राष्ट्र निर्माणको आकाङ्क्षासँग जोडेर लैजानुपर्नेमा जोड दिँदै परोपकारको भावनाले काम गर्नुपर्ने समयमा केही तत्वले विपत्तिलाई कमाउने मौकाका रुपमा प्रयोग गरेकामा आपत्ति जनाउनुभयो । “त्यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो ।

जनता जटिल परिस्थितिमा रहेका बेला दोष ढाकछोप र राहत सामग्री दुरुपयोग गर्र्नु असह्य भएको बताउँदै उहाँले नुवाकोटका जनताले त्यसको जवाफ दिइसकेका उल्लेख गर्दै भन्नुभयो, “स्वार्थी र जनविरोधी सोच र प्रवृत्ति त्यागेर सेवा भावका साथ काम गर्नबाट चुक्नु हुँदैन ।”

उहाँले देश/विदेशबाट सहयोग भइरहेको र सरकारको कोषको सदुपयोग हुँदैन भन्ने हल्ला चलाइएका बेला त्यस्ता अवगालबाट नेकपा (एमाले) जोगिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आफूसँगै रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको राहत समाग्री र कोषको रकम दुरुपयोग भएका समाचार विवरणप्रति ध्यानाकर्षण पनि गराउनुभयो ।

अध्यक्ष ओलीले एमालेको अभियानमा खटिएका स्वयम्सेवकको प्रशंसा गर्दै अप्ठ्यारो परिस्थितिमा हाँसीखुसी काम गरेको, जनतालाई पीरमर्कामा नपारी निःस्वार्थ भावले काम गर्नुपर्ने आवश्यकता दोहोर्‍याउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो – “एमालेलेझैँ अरुले गर्न सक्दैनन् तर एउटै घर वा विद्यालय बनाउनेलाई पनि धन्यवाद छ । अरुले गरेका असल कामको पनि प्रशंसा गर्नुपर्छ ।”

एमालेले यही जेठ १० गतेदेखि भूकम्पप्रभावित २५ जिल्लाका ५५ निर्वाचन क्षेत्रमा १० हजार नेता कार्यकर्ता परिचालन गरी स्वयम्सेवा अभियान सञ्चालन गरेको छ ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमाले सबै शक्ति एकताबद्ध भएर विपत् व्यवस्थापनको काममा दृढतापूर्वक लाग्ने र त्यसलाई प्रभावकारी बनाउने सन्दर्भमा राष्ट्रिय सहमतिको सरकार गठनको बहस पनि सतहमा आएको बताउनुभयो ।

उपप्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष गौतमले दुईतिहाइभन्दा बढी सभासद्को समर्थन भएको वर्तमान सरकार आफैंमा राष्ट्रिय सरकार भए पनि अन्य पार्टीले विपत्तिका समयमा राष्ट्रिय सहमतिको प्रस्तावका साथ संसद्बाट सङ्कल्प प्रस्ताव पारित गरेको सन्दर्भमा त्यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पुनः निर्माण, पुनः स्थापना तथा नवनिर्मााणका निम्ति साझा सङ्कल्प पूरा गर्न चाँडै संविधान जारी गर्ने र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निष्कर्षमा प्रमुख दलका शीर्ष नेता पुगेको जानकारी आफूलाई प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया