राहतमा राजनीति: संसद् सचिवालयमा उजुरी

इनेप्लिज २०७२ जेठ १७ गते १५:२९ मा प्रकाशित

काठमाडौँ, १७ जेठ । एकीकृत नेकपा(माओवादी)ले नुवाकोटमा राहत सामग्री वितरणमा राजनीति भएको भन्दै संसद् सचिवालयमा उजुरी दर्ता गराएको छ ।

सो पार्टीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आज उजुरी दर्ता गराउँदै उक्त जिल्लामा जस्तापाता वितरणमा राजनीतिककरण भएको र त्यसबाट भूकम्पपीडित आहत भएका बताउनुभएको छ ।

‘एमाओवादीले सञ्चालन गरेको राष्ट्रिय श्रम तथा पुनःनिमाण अभियानमा सहभागी हुने क्रममा आफूले राहत सामग्री वितरणमा चरम राजनीतिककरण भएको र फरक आस्थाका कसैलाई पनि जस्तापाता नदिएको’ उजुरीमा उल्लेख गरिएको छ ।

सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने जनाए पनि त्यो नुवाकोटमा कार्यान्वयन नभएको र आफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा त्यसको सुनुवाई नभएको उहाँले उजुरीमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया