हामीले राष्ट्रिय सरकार खोजेका होइनौँ: प्रचण्ड
गोरखाबजार, १६ जेठ । एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले राष्ट्रिय सरकार नखोजेको बताउनुभएको छ ।
“‘हामीले राष्ट्रिय एकता चाहियो भनेका हौँ । राष्ट्रिय सरकार होइन” गोरखाको आरुघाटस्थित भीमोदय उच्च माविमा आज टहरो बनाउँदै उहाँले भन्नुभयो, “कसैलाई मन्त्री बनाउन, मन्त्रिपरिषद् विस्तार गर्न राष्ट्रिय सरकार गठन गर्नु हुँदैन ।”
नयाँ संविधान निर्माणको लागि दलहरूबीच सहमति जुट्ने वातावरण देखिएमा राष्ट्रिय सरकार गठन गरेर अघि बढ्न सकिने उहाँको भनाइ छ ।
एमाओवादीले राष्ट्रिय एकता चाहेको बताउँदै उहाँले राष्ट्रिय एकता कायम गर्न राष्ट्रिय सरकार आवश्यक नपर्ने तर्क गर्नुभयो ।
“कसैलाई मन्त्री हुन मन लाग्यो भन्दैमा राष्ट्रिय सरकार गठन गर्न हुँदैन” उहाँले भन्नुभयो, “संविधान निर्माण, भूकम्पले ध्वस्त भएको संरचना पुनःनिर्माण र नवनिर्माणको नयाँ नीति तथा कार्यक्रम ल्याएर प्रष्ट दृष्टिकोण देखिएमा नयाँ नेतृत्व खोजेर सरकार गठन गर्न सकिन्छ, होइन भने यही सरकार रहिरहन्छ ।”
गाउँवस्ती पुनःनिर्माणका लागि नेता–कार्यकर्ता परिचालन गर्नुपर्ने भन्दै दाहालले पुनःनिर्माण तथा श्रमदान अभियानमा सबै जुट्न आग्रह गर्नुभएको छ ।
चीन–भारत र नेपालबीच त्रिदेशीय साझेदारी गरेर देशमा सहयोग भित्र्याउन लाग्नुपर्ने उहाँको तर्क छ । भारत र चीनबीच आर्थिक सम्झौता भइसकेको भन्दै उहाँले नेपालले दुवै छिमेकी देशसँग समन्वय गरेर पुनःनिर्माण, नवनिर्माणमा सहयोग लिनुपर्ने अध्यक्ष दाहालले बताउनुभयो ।
अध्यक्ष दाहालले घर, विद्यालय निर्माण गर्दा माटो परीक्षण गरेर भूकम्प प्रतिरोधात्मक बनाउनुपर्ने पनि बताउनुभयो । “जहाँ मन लाग्यो त्यहाँ घर बनाउन हुँदैन”, उहाँले भन्नुभयो, “सरकारले अब घर, भवन निर्माणको आचारसंहिता ल्याउनुपर्छ र कडाईका साथ कार्यान्वयन गर्न ढिलाई गर्नु हुँदैन ।”
नेता दाहालले आफूले ३१ वर्षअघि पढाएको भीमोदय उच्च माविमा टहरो निर्माणमा पनि सघाउनुभयो । दाहालले भीमोदयमा विज्ञान र कृषि विषय पढाउनुहुन्थ्यो ।
साथै, भीमोदय उमाविमा एमाओवादी स्थायी समिति सदस्य जनार्दन शर्मा नेतृत्वको टोलीले टहरो निर्माणमा तीव्रता दिएको छ । जेठ १७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएकाले विद्यार्थी पढ्ने टहरो निर्माणमा एमाओवादीले सघाएको नेता शर्माले बताउनुभयो ।
यसैबीच, आफू शिक्षक रहँदा बसेको घर हेर्न अध्यक्ष दाहाल आरुटार पुग्नुभएको थियो । तत्कालीन अवस्थामा अध्यक्ष दाहाल बसेको घर महाभूकम्पले ध्वस्त बनाएको छ । उहाँले ध्वस्त घरको भग्नावशेष अवलोकन गरेर घरबेटीलाई पनि भेट्नुभएको थियो ।
भूकम्पपीडितलाई रु ५० हजारको दरले राहत वितरण गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले आरुघाटका भूकम्पपीडित माझ भन्नुभयो, ‘रु १५ हजारले टहरो छाउने जस्तापाता किन्न पनि पुग्दैन । हामीले ५० हजार रुपैयाँ दिनुपर्छ भनेर सरकारलाई दबाब दिएका छाँै ।”
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया