बुटवल पावर कम्पनीले अवरुद्ध विद्युत् उत्पादन सुरु

इनेप्लिज २०७२ जेठ १६ गते ३:०१ मा प्रकाशित

f532865b9b8eeff20633b1139d002319प्यूठान, १६ जेठ । बुटवल पावर कम्पनी (विपिसी) प्यूठानले पाँच दिनदेखि अवरुद्ध रहेको विद्युत् उत्पादन शुक्रबारबाट सुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले चितवन र लमही हुँदै प्यूठानसम्म वितरण गर्ने १३२ केभी विद्युत् प्रसारण लाइनमा विद्युत् आपूर्ति कटौती गर्दा सो कम्पनीले विद्युत् उत्पादन बन्द गरेको थियो ।

विपिसीले विद्युत् उत्पादन नहुँदा र नेपाल विद्युत् प्राधिकरणले पश्चिम क्षेत्रमा आपूर्ति गर्दै आएको १३२ केभी विद्युत् प्रसारण लाइनमा समस्या हुँदा झन्डै एक सातासम्म प्यूठान, रोल्पा, अर्घाखाँचीसँगै यस क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमितता भएको र विद्युत् आपूर्तिमा केही सुधार भएपछि उत्पादन सुरु गरेको वितरण प्रमुख श्याम थापाले बताउनुभयो ।
“विद्युत् प्राधिकरणले यस क्षेत्रको विद्युत् आपूर्तिमा प्राविधिक समस्यासहित भूकम्प प्रभावित जिल्लामा थप विद्युत् पठाएकाले समस्या आएको थियो ।” प्राधिकरण बिजुवार शाखाका निमित्त प्रमुख प्रकाश केसीले भन्नुभयो– “प्राधिकरणको प्राविधिक समस्या समाधान भयो । विपिसीले पनि विद्युत् उत्पादन सुरु गरेको छ । अब विद्युत् आपूर्तिको समस्या समाधान हुन्छ ।”

गर्मी मौसम सुरु भएसँगै विद्युत् धेरै खपत हुने गरेको र विद्युत्को उत्पादनदर पनि घट्दै गएकाले विद्युत्को आवश्यकताअनुसार पूर्ति गर्नसक्ने अवस्थामा अहिले आफूहरु नभएको समेत वितरण शाखा प्रमुख थापाले बताउनुभयो ।

प्रतिक्रिया