भूकम्पबाट क्षतिग्रस्त जोखिममा रहेका घर भत्काउन समस्या

इनेप्लिज २०७२ जेठ १५ गते ४:२८ मा प्रकाशित

After-Eatrh-quake-495x250काठमाडौँ, १५ जेठ । विनाशकारी भूकम्पबाट राजधानी उपत्यकामा भत्किएका र क्षतिग्र्रस्त भएर जोखिममा रहेका घर भत्काउन अनेक समस्या देखिएका छन् ।

गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका ठूला पराकम्पनबाट मुलुकभर झै काठमाडौँ उपत्यकामा पनि हजारौँ घर क्षतिग्रस्त छन् । यतिखेर घरधनी तथा सरकारी निकायलाई भूकम्पले क्षतिग्रस्त भएर लडेका घरको भग्नावशेष हटाउन मात्र नभई जोखिममा रहेका घर भत्काउन ठूलो चुनौती बनेको छ ।

भूकम्पबाट महानगरपालिकामा मात्र पाँच हजार ६१ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने १८ हजार ५३७ घरमा आशिंक क्षति भएको महानगरपालिका विपद् व्यवस्थापन इकाइ प्रमुख वीरबहादुर खड्काले बताउनुभयो । त्यस्तै महानगरभित्रका २३ सरकारी कार्यालय पूर्णरुपमा क्षति भएका छन् भने २१ कार्यालयमा आंशिक क्षति पुगेको छ ।

महानगरपालिकामा हालसम्म करिब एक लाख १० हजार घर नक्सा स्वीकृत भई निर्माण भएका छन् भने त्यसमध्ये ५० प्रतिशतभन्दा बढी घर स्वीकृत नक्साको मापदण्डविपरीत निर्माण भएको महानगरपालिकाको अनुमान छ ।

हाल दिनहु महानगरपालिकामा ५० भन्दा बढी घरधनीले भूकम्पबाट क्षतिग्रस्त जोखिमयुक्त घर भत्काउन आवेदन दिँदै आएका छन् । त्यस्ता घर भत्काउने क्रममा अग्ला घर भत्काउने उपकरणको अभाव रहेको र अधिकांश स्थानमा बाटो नभएको एवम् साँघुरो बाटोका कारण कठिनाई उत्पन्न भएको महानगरपालिकाका भौतिक विकास तथा निर्माण विभाग प्रमुख डा उत्तर रेग्मीले बताउनुभयो ।

भूकम्पका कारण कमजोर घरहरु क्षतिग्रस्त भई अर्को घरमा अडेस लागेर रहेका, क्षति नभएका घरमा क्षतिग्रस्त घरका भग्नावशेषले असर पार्ने सम्भावना भएका र भग्नावशेषका सामग्री बोक्न तथा फाल्न समस्या परेको उहाँले जानकारी दिनुभयो ।

जोखिमयुक्त घर भत्काउन सरकारले महानगरपालिकाको हकमा सो कार्यालयका भौतिक विकास विभागका प्रमुख र अन्य नगरपालिकाको हकमा नगरपालिकाका इन्जिनियर संयोजक, सहरी विकास तथा भवन निर्माण विभागले तोकेको इन्जिनियर सदस्य, महानगरपालिका÷नगरपालिकाका वडा सचिव सदस्य रहने जोखिम अनुगमन समिति गठन गरेको छ ।

समितिलाई दु्रत लेखाजोखा एकपटक मात्र गर्ने र त्यसका लागि घरधनीको लिखित निवेदन लिने, सम्भव भएसम्म भवन घरटहराको चारैतिरबाट फोटो लिने र मुचुल्का उठाउने कार्यादेश दिइएको छ ।

सो समितिको सिफारिसमा नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकाय सम्मिलित टोलीले जोखिमयुक्त घर भत्काउन सुरु गरेको काठमाडौँ सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

महानगरपालिकामा भूकम्पबाट सार्वजनिक आवागमन अवरुद्ध भएको र एउटा घरले अर्काे घरमा क्षति पु¥याउन सक्ने सम्भावना भएको स्थानमा जोखिम अनुमान समितिले तयार पार्ने प्रतिवेदनका आधारमा घर भत्काइने गरिएको छ ।

घर भत्काउने क्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पौडेलले जोखिमयुक्त घर भत्काउने क्रममा व्यस्त सहरको बाटो अवरोध हुनुका साथै सम्बन्धित स्थलमा पुगी काम गर्न विशेष खालको उपकरण अभावका कारण कठिनाइ भएको बताउनुभयो ।

उहाँले हाल उपलब्ध स्काभेटर, डोजर, क्रेनलगायत उपकरणका भरमा मात्र अग्ला घरका क्षतिग्रस्त भग्नावशेष पन्छाउनुपरेको जानकारी दिनुभयो ।

बिहीबारसम्म महानगरपालिकामा घर भत्काउन एक हजार २०० भन्दा बढी घरधनीले आवेदन दिइसकेका छन् भने त्यसमध्ये ९० प्रतिशत घरधनीले आफँैले भत्काउने उल्लेख गरेको महागनरपालिकाले जनाएको छ । हालसम्म मुलुकभर भूकम्पका कारण क्षतिग्रस्त भई जोखिममा रहेका ७३० घर भत्काइसकिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त भएका घरसँगै महानगरपालिकामा हाल नियमविपरीत बनेका तथा ठूला बहुतले घर भत्काइ पाउँ भनी छिमेकीहरुले समेत आवेदन दिँदै आएको महानगरपालिकाले जनाएको छ ।

महानगरका ३५ वडामध्ये भूकम्पबाट सबैभन्दा बढी वडा नं १४ मा ७०५ घर पूर्णरूपमा क्षति भएका छन् भने दुई हजार ५५ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी वडा नं १६ मा ६९४ घर पूर्णरूपमा क्षति भएका छन् भने एक हजार २५१ घरमा आंशिक क्षति पुगेको छ । महानगरपालिकामा ५६५ जनाको भूकम्पबाट निधन भएको र ४७४ जना घाइते भएको सो कार्यालयले जनाएको. छ ।

प्रतिक्रिया