सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:१५
वासिङटन डिसी 16:30

‘आफ्नो घर भत्किँदा पनि जनतालाई बचाउन हामी सफल भयौं’

इनेप्लिज २०७२ जेठ १४ गते १३:४६ मा प्रकाशित

puskar-karkiनेपालमा विक्रम सम्वत १९९० पछि गत बैशाख १२, १३ र २९ गते आएको ठूलो भूकम्पले नेपालीलाई हायलकायल पार्‍यो । आठ हजार पाँच सय जनाभन्दा बढीको मृत्यु भयो । लाखौँको संख्यामा भौतिक संरचनाहरु ध्वस्त भए । विपद्का बेला राज्यंका प्रायः संयन्त्रहरु कमजोर देखिए । भूकम्प आउँछ भन्ने थाहा हुँदाहुँदै पनि त्यस अनुसारको पूर्वतयारी नअपनाउँदा भौतिक तथा मानवीय क्षतिको दायरा बढ्दै गयो । सीमित स्रोत र साधनका बीच पनि सुरक्षा संयन्त्रले काम भने यत्र, तत्र, सर्बत्र चर्चा बटुल्यो । भूकम्पपछि लुटपाट र चोरीका गिरोहहरु पनि सक्रिय भए । यस्तै बेला हो, त्यस्ता गिरोहहरुको क्रियाशिलता देखिने । तर पनि मानिसहरु जति सशंकित भएका थिए, त्यति धेरै भएन । यस्तो बेला महानगरीय  प्रहरी अपराध महाशाखाले कसरी काम गर्‍यो त ? यसबारे महाशाखा प्रमुख, एसएसपी पुस्कर कार्की दैनिक नेपाललाई बेलीबिस्तार लगाउँदै जान्छन् : भूकम्प आएपछि पहिला त हामीले हाम्रा संयन्त्रको खोजी गर्‍यौँ । एक घण्टाभित्रमा थाहा भयो, सबै साथीहरु सुरक्षित रहेछन् । त्यो दिन बाहिर निस्कने अवस्था थिएन । तर पनि पहिलो फेजमा राहत, उद्दारमै खटियौँ । अर्कोदिन आर्थत आइतबारबाट हाम्रो संयन्त्रलाई निकै क्रियाशिल बनायौँ । भूकम्प गएपछि मान्छेहरु प्रायः घर छाडेर बाहिर बसेका थिए । घर छाडेर बाहिर बसेकाहरु र उनीहरुको घरको सुरक्षा गर्न निकै चुनौती थियो । चोरी हुन्छ भन्ने हल्ला फैलिएको थियो । त्यही दिनबाटै हामीले ठाउँ विशेषमा अनुसन्धानलाई तीव्रता पार्‍यौँ । हामीले हाइटी, अन्य अफ्रिकन मुलुक लगायतबाट पनि पाठ सिकिसकेका थियौँ । त्यस्ता मुलुकहरुमा विपदको बेला निकै ठूलो अपराधहरु भए । तर हाम्रो मुलुकमा जति अपराध हुन्छ भनेर सोचिएको थियो, त्यति हुन पाएन । यसमा हाम्रो पूर्वतयारी पनि राम्रै थियौ । बेलैमा हामीले सक्रियता देखाउँदा अपराधिक गिरोहहरु त्यति खेल्न पाएनन् । हामीले भोलिपल्टबाटै चोरी, लुटपाट, कालाबजारी लगायतका गतिविधिलाई निगरानीमा राख्यौँ । कालोबजारी गर्ने २६ जनालाई पक्राउ गरेर कानुनी दायरामा पनि लियौँ । पानी, चाउचाउ, विस्कुटदेखि त्रिपाल, जस्तासम्म कालोबजारी भएको थियो । मानिस खाली ठाउँमा बसिरहेका थिए । नगद र सामानहरु झोलामा बोकेर लिएका थिए । यस्तो बेला सुरक्षा व्यवस्थालाई चुस्त बनाउनु चानचुने कुरा थिएन । चोरी नभएका होइनन् । नगद, गहना, ल्यापटप लगायतका तत्काल बिक्री हुने सामानहरु चोरी भएका थिए । तर हामीले ९० प्रतिशत अपराधमा संलग्नहरुलाई कानुनी दायरामा ल्याइसकेका छौँ । पहिला ७ जना र त्यसपछि १६ जनालाई पक्राउ गरेका छौँ । २३ जना कारबाहीको दायरा भित्र परिसकेका छन् । यस्तोबेला बिभिन्न अफवाह फैलाउनेहरु पनि क्रियाशिल भए । भूकम्पले यसै पनि नागरिकहरु त्रसित थिए । त्यसमाथि ज्योतिष र केही सञ्चारमाध्ययमहरुले समेत प्रोपागाण्डा फैलाउने काम गरे । नेपालीहरुले ज्योतिषशास्त्रमा अलि बढी विश्वास गर्ने भएकाले यस्ता सार्वजनिक अभिव्यक्तिहरुले नागरिकमा भय सिर्जना गर्ने काम गर्दथ्यो । त्यसैले हामीले दुई जना ज्योतिषलाई कार्यालयमै ल्याएर राख्यौँ । र, तारेखमा छाडेका छौँ । धेरैलाई सम्झाउने काम पनि गर्‍यौँ । अनुसन्धानमा समस्या हामीसँग प्रयाप्त जनशक्ति भएन । त्यो बाहिरबाट पनि प्रष्टै देखियो । अर्कोकुरा यस्तो विपद्को बेला चाहिने पर्याप्त सामग्रीहरु पनि भएनन् । यसको प्रभाव हामीले गर्ने काममा राम्रैसँग देखिए । तर पनि देश बिपतमा रहेका बेला हाम्रा साथीहरुले राम्रो भूमिका निर्वाह गरे । यस्तो बेला हामीले नै हो काम गर्ने । मेरो मातहतका साथीहरुलाई पनि त्यही अनुसारको स्कुलिङ गरेँ । हाम्रो कार्यालयका कर्मचारीहरु भूकम्प ग्रसित क्षेत्रकै बढी छन् । प्रायः सबैको घर भत्किएको छ । कतिले परिवारको सदस्यनै गुमाउनु परेको छ । हामीलाई नै बस्नको समस्या छ । यस्तो बेलामा काम गर्दा असहज त हुने नै भयो । तर पनि साथीहरु घरमा नपुगेर भए पनि देशको सेवा गरे । जसले गर्दा अपराधलाई धेरै हदसम्म नियन्त्रण गर्न सम्भव भयो ।

प्रस्तुति : विश्वास खड्काथोकी/दैनिक नेपाल

प्रतिक्रिया