पहिरो पीडितलाई अस्थायी बसोबासको व्यवस्था

इनेप्लिज २०७२ जेठ १३ गते १:२५ मा प्रकाशित

23बाबियाचौर(म्याग्दी), १३ जेठ । म्याग्दीको राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले घरवारविहीन भएको बैसरीका बासिन्दालाई सोमबार अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

भगवती–२ बैसरीका १६ र राम्चे–९ का ११ घरपरिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय गाविस कार्यालय, विभिन्न सङ्घसंस्था र समुदायको सक्रियतामा पिप्ले–४ राउमारेस्थित बेनी–जोमसोम सडक छेउको सार्वजनिक जग्गामा टहरा निर्माण गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो ।

सोह्र घण्टासम्म कालीगण्डकी नदी थुनिने गरी आइतबार मध्यराति खसेको पहिरोले कालीगण्डकी नदी वारीपारीका दुई वटा बस्तीका २७ घर, दुई झोलुङ्गे पुल पुरिनुका साथै करिब दुई किलोमिटर बेनी–जोमसोम सडक अवरुद्ध बनाएको छ ।

सभासद् नवराज शर्मा, रेशम बानियाँको साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयबासीको पहलमा रिसीनचौतारीको धौलागिरि प्राविमा बस्दै आएका पहिरो पीडितलाई राउमारेको सार्वजनिक जग्गामा पाल टाँगेर अस्थायी रुपमा बसोबास गर्ने व्यवस्था मिलाइएको हो ।

असोजसम्म राउमारेमा बसोबासको व्यवस्था मिलाइएको र त्यसपछि स्थायी बसोबासको व्यवस्था मिलाउने पहल भइरहेको सभासद् नवराज शर्माले जानकारी दिनुभयो ।

राहत वितरण
पहिरोबाट घरबारविहीन बनेका बैसरीका–२७ घरधुरीलाई मङ्गलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र जिल्ला विपत् व्यवस्थापन समितिमार्फत रु दश हजार वितरण गरिएको छ ।

भगवती गाविसका सचिव भोलानाथ आचार्य र राम्चेका सचिव कृष्ण विकले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्नुभएको थियो ।

यसैगरी म्याग्दी जेसीजले १२ सेट टेन्टलगायत सामग्री सहयोग गरेको छ भने चामल, दाल र पाल सहयोग गरिसकेको कल्याणकारी संस्था ओमकुमारी शान्ति कोषले राहत जुटाउन बेनीमा घरदैलो गरेको छ ।

पहिराले राम्चे–९ का खरिमाया गुर्बजा, भेमबहादुर गर्बुजा, बहादुर पाइजा, जयबहादुर पुर्जा, टीका पुर्जा, शेरबहादुरर पुन, मनबहादुर पुन, सुरेश पुर्जा, ललु पुर्जा, नारायण पुर्जा र शैबहादुर गर्बुजाको घर पुरिएका छन् ।

त्यस्तै भगवती–२ का झबहादुर गर्बुजा, मिलन खोरजा, कृष्ण पाइजा, राजन केसी, सोमबहादुर गर्बुजा, पुर्खमान खोरजा, चेतप्रसाद पुर्जा, माया केसी, खिमबहादुर केसी, प्रेम पुन, पार्वती मगर, भीमबहादुर कार्की, भीमसेन केसी, प्रेम गर्बुजा, लक्षण गुरुङ र बलबहादुर गर्बुजाको घर पुरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच बैसरीमा भाडामा व्यवसाय गर्दै आएका तीन घरपरिवारले भने आफूहरुको सबै धनसम्पत्ति क्षति भएपनि सरकारी राहतबाट बञ्चित भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया