अमेरिकाका नेपालीबाट भूकम्प पीडितका लागि १८ लाख सहयोग

इनेप्लिज २०७२ जेठ ११ गते ११:४६ मा प्रकाशित

b7ff8dकाठमाडौँ, ११ जेठ । नेपाली जनसम्पर्क समिति अमेरिकाले भूकम्प पीडितका लागि रु १८ लाख सहयोग गरेको छ ।

नेपाली काँग्रेसको भ्रातृ संस्थाका रुपमा अमेरिकामा क्रियाशील समितिले अमेरिकाका २६ वटा शाखा आबद्ध शुभेच्छुकले दिएको सहयोग जम्मा गरी नेपाल आएको समितिका अध्यक्ष आनन्द विष्टले जानकारी दिनुभयो ।

“अमेरिकामा हामीले खोलेको भूकम्प पीडित राहत कोषको खातामा रु ५० लाख जम्मा भइसकेको छ, यस्तो रकममा पनि अमेरिकामा कर तिर्नुपर्ने प्रावधान भएकाले अहिले सबै ल्याउन सकेनौँ, प्रक्रिया मिलाएर रु १८ लाख रकम ल्यायौँ”–उहाँले भन्नुभयो ।

राहत रकम आज समितिले काँग्रेसले राष्ट्रिय वाणिज्य बैंकमा खोलेको खातामा जम्मा गरी भौचर पार्टी केन्द्रीय कार्यालयमा पुगी उपसभापति रामचन्द्र पौडेललाई बुझाएको हो ।

भौचर बुझ्दै उपसभापति पौडेलले विदेशमा रहेका सबै शुभेच्छुकलाई सङ्कटको घडीमा दिल खोलेर सहयोग गर्न आग्रह गर्नुभयो ।

“सङ्कटमा मातृभूमि सम्झेर सहयोग गर्ने सबै शुभेच्छुकको उच्च मूल्याङ्कन गरिनेछ, पार्टीको राहत कोषमा जम्मा भएको रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा हस्तान्तरण गरिनेछ”–उहाँले भन्नुभयो ।

समितिले कम्तीमा रु ७६ लाख राहतका लागि सहयोगस्वरुप अमेरिकामा जुटाउन लागेको जनाएको छ । समितिले जुटाएको रकम बुझाउन अध्यक्ष विष्टका साथमा उपाध्यक्ष धर्मराज श्रेष्ठ र सदस्य हरिबोल भण्डारी पनि अहिले नेपाल आउनुभएको छ ।

राहत कोषमा जम्मा भएबाहेक व्यक्तिगत र शुभेच्छुकले पठाएको रकम पनि सिधै पीडितको बस्तीमा गई हस्तान्तरण गरिने सदस्य भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया