महिलालाई पुनः स्थापना गरियो

इनेप्लिज २०७२ जेठ ११ गते १:३३ मा प्रकाशित

Dang_district_locationतुलसीपुर (दाङ), ११ जेठ । गत वैशाख २८ गते जिल्लाको सतवरिया गाविसको वनघुस्री गाउँबाट विभिन्न आरोप लगाएर गाउँनिकाला गरिएकी एक महिलालाई आइतबार पुनः स्थापना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालसहित सभासद् पार्वती डिसी चौधरी, महिला तथा बालबालिका कार्यालयका प्रमुख वीणा श्रेष्ठसहित अन्य विभिन्न निकायका प्रतिनिधिले आइतबार स्थानीयवासी वासुदेवी चौधरीलाई गाउँमा पुनः स्थापना गराउनुभएको हो ।

तेह्र दिनपहिले गाउँका केही महिलाले कपाल मुण्डन गराई कालोमोसो र जुत्ताको माला लगाएर गाउँ निकाला हुनुभएकी चौधरीलाई स्थानीय प्रशासनको अगुवाइमा गाउँलेले फूलमाला र अबिर लगाएर पुनः स्थापित गरेका हुन् । परपुरुष सँग अनैतिक सम्बन्ध राखेको र बोक्सीको आरोप लगाउँदै गाउँका केही महिलाले अमानवीय व्यवहार गर्दै सामाजिक बहिष्कार गरेकाले नै वासुदेवीलाई फूलमाला र अबिर लगाएर स्वागत गर्दै घर प्रवेश गराएका हुन् ।

कार्यक्रममा पीडित वासुदेवीले आफूमाथि भएको व्यवहार समाजमा कसैलाई पनि नहोस् भन्दै समाजमा मिलेर बस्ने प्रतिबद्धता जनाउनुभयो । घटना भएको दिनदेखि वासुदेवी घोराहीस्थित सुरक्षा आवास सेवा केन्द्रमा बस्दै आउनुभएको थियो । जिल्ला प्रशासन कार्यालयले कालोमोसो दल्ने घटनामा संलग्न सोही ठाउँका सीतारामी चौधरी, पानमती चौधरी, हिरामोती चौधरी, जानकी चौधरी, दिलकुमारी चौधरी र आशाकुमारी चौधरीलाई १० दिन प्रहरी हिरासतमा राखेर जनही दुई÷दुई हजारका दरले जरिवाना तिराएर गत बिहीबार धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया