नदी किनाराका बस्तीमा सतर्कता

इनेप्लिज २०७२ जेठ ११ गते १:३१ मा प्रकाशित

Myagdi_district_locationबागलुङ, ११ जेठ । म्याग्दीको भगवती र राम्चे गाविसको सिमाना बैसरीमा पहिरो खसेर कालीगण्डकी नदी थुनिएपछि नदी किनारमा रहेका बागलुङका बस्तीमा उच्च सतर्कता अपनाइएको छ ।

नदी थुनिएपछि त्यसबाट हुन सक्ने सम्भावित जोखिम र खतराबाट जोगिन सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । नदी किनारका वस्तीमा पुगेर नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरीनायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

बागलुङको मालढुङ्गा, खनियाघाट, निरयघाट, कुश्मिसेराको जैमुनी, छिस्तीको बेलवगर र भकुण्डेको दव्यल्याङमा प्रहरी खटिएका छन् । “कालीगण्डकी नदी थुनिएपछि नदी किनार क्षेत्रका बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ, प्रहरी पनि परिचालित छन्”–प्रनाउ बस्नेतले भन्नुभयो–“सम्भावित दुर्घटना या जोखिमबाट बच्न स्थानीयवासीलाई सुरक्षित स्थानमा जान भनिएको छ ।”

तलाउ फुटिहाले नदी किनारमा रहेका बस्ती उच्च जोेखिममा रहनेछन् । प्रहरीले निगरानी र सुरक्षा सतर्कता बढाएसँगै स्थानीयवासी पनि सुरक्षित स्थानतर्फ लागेका छन् ।

प्रतिक्रिया