पुरुष भलिबल च्याम्पियनसीपमा नेपालको विजयी सुरुवात

इनेप्लिज २०७२ जेठ १० गते १६:२० मा प्रकाशित

volleyballकाठमाडौँ, १० जेठ । एभिसी सेन्टर जोन सिनियर पुरुष भलिबल च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा नौलो प्रतिद्वन्द्वी ताजिकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

ढाकास्थित सहिद सुर्वार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा २२–२५ ले गुमाएको थियो । तर, त्यसपछिको दुई सेटमा नेपालले लगातार आफ्नो पक्षमा पारेको थियो ।

नेपालले ताजिकिस्तानविरुद्ध तेस्रो सेट २५–१८ र चौँथो तथा अन्तिम सेट २६–२४ को सङ्घर्षपूर्ण जित निकालेको हो । यस क्वालिफायर प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।

शीर्ष चार टोलीले फाइनल यात्रा गर्ने प्रतियोगिताको विजेतासहित उत्कृष्ट तीन टिमले अर्को चरणको प्रतियोगितामा स्थान बनाउने छन् ।

प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको नेतृत्व स्पाइकर इमबहादुर रानाले गर्नेछन् । त्यस्तै, टोलीको अन्य सदस्यमा उपकप्तान संजय अर्याल, खेलाडीहरु मिलन लामा, सन्जु शाह, कुलबहादुर थापा, मनबहादुर श्रेष्ठ, राजकुमार थापा, उमाकान्त केसी, धनबहादुर भट्ट क्षेत्री, चन्द्रबहादर कँुवर र हरिहजुर थापा रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा कपिल किशोर श्रेष्ठ र सहायक प्रशिक्षकमा प्रज्वल श्रेष्ठ रहेका छन् । टिम व्यवस्थापकमा श्यामकृष्ण श्रेष्ठ रहेका छन् । त्यस्तै, टोलीमा अन्तर्राष्ट्रिय रेफ्री कुलबहादुर थापा रहेका छन् ।

प्रतिक्रिया