हावाहुरीका कारण उदयपुरमा व्यापक क्षति

इनेप्लिज २०७२ जेठ १० गते १६:०८ मा प्रकाशित

windगाईघाट (उदयपुर), १० जेठ । शनिबार राती आएको अचानकको हावाहुरी र बर्षाको कारण उदयपुर जिल्लाका बिभिन्न स्थानहरुमा व्यापक भौतिक क्षति भएको छ ।

राती दश बजे आएको हावाहुरी र आँधीको कारण जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रका सडक खण्डका ४० वटा भन्दा बढी बिजुलीका पोलहरु ढालेको छ ।

बिजुलीका पोल र तारहरु हावाहुरीले ढालेर चुँडाएपछि रातीदेखि नै जिल्लाको सदरमुकाम गाईघाट लगायतका स्थानमा बिद्युत बन्द भएको कुरा बिद्युत प्राधिकरण कार्यालय उदयपुर गाईघाटले बताएको छ ।

यता हावाहुरीकाकारण उदयपुर जिल्लाभरीमा ६० वटा भन्दा बढी घर तथा बिद्यालयहरुमा भौतिक क्षति पुगेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक जयराम सापकोटाले बताउनु भयो ।

शनिबार राती आएको हावाहुरीबाट घर भत्कँदा रौता–९ गुराँसे बस्ने बर्ष २० की मुना थापामगरको घरको छानाले किचेर मृत्यु भएको छ ।

यस्तै, जिल्लाको सुन्दरपुर, चिलाउने, बेल्टार, हँडिया, तपेश्वरी गाविस क्षेत्रमा समेत हावाहुरीको कारण घरका छाना उडाएको र सडकमा रुखहरु ढलेको कुरा प्रहरी नायब उपरिक्षक जयराम सापकोटाले बताउनु भयो ।

हावाहुरीका कारण सडकमा रुख ढल्दा जिल्लाका तीनवटा सडकमार्ग समेत अबरुद्ध हुन पुगेको कुरा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत साउनेको जंगलमा रुख ढल्दा सो सडक अबरुद्ध भएको छ भने जिल्लाको सुन्दरपुर–गाईघाट सडक खण्ड अन्तर्गत सुन्दरपुरको जंगलमा रुख ढल्दा उक्त क्षेत्रको सडक समेत अबरुद्ध हुन पुगेको प्रहरीले बताएको छ ।

यता, उदयपुरको बसाहा–बेल्टार र फत्तेपुर सडक खण्डमा पनि रुख ढलेको कारण सडक अबरुद्ध हुन पुगेको छ ।

उक्त स्थानमा दिनभरीनै प्रहरीहरुको प्रयासबाट भर्खरैमात्र सडक खुलाउने कार्य सुरु भएको कुरा जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रतिक्रिया