नवनियुक्त पर्यटन मन्त्रीलाई व्यवसायीको १२ बुँदे सुझाव

इनेप्लिज २०७२ जेठ १० गते १५:३१ मा प्रकाशित

kripa-sur-sherpaकाठमाडौँ, १० जेठ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले आज नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पासँग भेट गरी पर्यटनका लागि तत्काल गर्नुपर्ने १२ बुँदे सुझाव पेस गरेको छ ।

विनासकारी भूकम्पपश्चात् पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै व्यवसायीले पर्यटन पुनरुत्थानका लागि मन्त्रालयले तत्काल गर्नपर्ने कामलाई सुझाएका हुन् ।

पर्यटन प्रवद्र्धन विभागका इन्चार्ज सूर्य थापाको नेतृत्वमा गएको व्यावसायिक टोलीले भूकम्पपछि पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको र पर्यटक आउने क्रम रोकिएको भन्दै उनीहरुले कार्यालय सञ्चालनका लागि लिएका घर तथा कोठा भाडा तीन महिना मिनाहा गर्न सुझाएका छन् ।

यस्तै सरकारले तत्काल रु १० अर्बको कोष खडा गरी पर्यटन क्षेत्रको पुनःनिर्माण थाल्नुपर्ने, आगामी आर्थिक वर्षको बजेटमा १० प्रतिशत पर्यटन क्षेत्रलाई छुट्टाउनु पर्ने, विदेशीहरुलाई आकर्षण गर्न आवश्यक प्रचारप्रसार गरिनुपर्ने, व्यवसायीले लिने ऋणलाई ब्याज मिनाहा तथा लिएका व्याज दुई प्रतिशतमा झार्नुपर्नेलगायतका सुझाव दिएका छन् ।

सङ्गठनका अध्यक्ष चन्द्र रिजालले १२ बुँदे सुझाव बाचन गर्दै उल्लेखित काम तत्कालका लागि गर्न सकेको खण्डमा पर्यटन क्षेत्रले गति लिने बताउनुभयो ।

यसैबीच नवनियुक्त पर्यटन मन्त्री शेर्पासँग पर्यटन पत्रकार सङ्घ (जाट–नेपाल) ले भेट गरी बधाई तथा शुभकामना दिएको छ ।

दुवै भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शेर्पाले वर्तमान अवस्थामा अवसर र चुनौती दुवै रहेको बताउदै विनासकारी भूकम्पछि पर्यटन परेको असरको सामना गरी पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमले सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले सबैको आकर्षण रहेको सम्पदाको पुनःनिर्माण तत्काल गर्न, ग्रेट हिमाल ट्रेललाई व्यवस्थित गर्न र पदयात्राका लागि निषेधित गरिएका क्षेत्र तत्काल खोल्न आफूले पहिलो प्राथमिकतामा राखी काम गर्ने बताउनुभयो ।

जाट–नेपालका अध्यक्ष देवी पन्तले नवनियुक्त मन्त्री शेर्पालाई सफल कार्यकालको शुभकामना तथा बधाईं ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया