बुधबार, माघ १२ २०७८
काठमाडौं ०१:३२
वासिङटन डिसी 14:47

इरान पारमाणविक स्थलमा व्यवस्थित पहुँच प्रदान गर्न सहमत भएको वार्ताकारको भनाइ

इनेप्लिज २०७२ जेठ १० गते १५:१८ मा प्रकाशित

तेहरान, १० जेठ । इरानको पारमाणविक कार्यक्रमका विषयमा भविष्यमा हुने सम्झौतामा उसका सैनिक केन्द्रमा संयुक्त राष्ट्र सङ्घका निरीक्षकलाई व्यवस्थित पहुँच प्रदान गर्न तेहरान सहमत भएको वार्ताकारहरूले आइतबार बताएका छन् ।

उक्त कुरा यस मुलुकका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको यसअघिको टिप्पणीभन्दा विपरीत भएको देखिएको छ ।

इरानी विदेशमन्त्री मोहमद जावेद जरिफ तथा विदेश उपमन्त्री अब्बास अराग्चीले संसदको बन्द सत्रमा भाग लिएपछि विदेशउपमन्त्री अराग्चीले उक्त कुरा बताउनुभएको हो र त्यसलाई इरानको सरकारी टेलिभिजनले प्रसारण गरेको छ ।

टीभीले अराग्चीले इरानले सैनिक स्थलमा व्यवस्थित पहुँच प्रदान गर्न सहमति दिएको बताउनुभयो भनी उद्धरण गरेको छ ।

उक्त बन्द बैठकमा भाग लिएका र संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सांसद अहमद सुहानीले कडा नियन्त्रण तथा विशेष परिस्थितिमा सैनिक स्थलमा सीमित निरीक्षण प्रदान गरिने बताउनुभयो ।

उहाँले यस्तो व्यवस्थित पहुँचमा संयुक्त राष्ट्र सङ्घका निरीक्षकलाई सैनिक स्थल नजिकै वातावरणीय नमुना लिन सक्ने सम्भावना हुने बताउनुभयो ।

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले बुधबार कुनै पनि पारमाणविक सम्झौतामा इरानी सैनिक स्थल वा इरानी वैज्ञानिकलाई अन्तर्राष्ट्रिय निरीक्षणको पहुँच प्रदान नगर्ने दृढता व्यक्त गर्नुभएको थियो ।

इरानी सैनिक नेताहरूले पनि यसअघि क्रुद्ध रूपमा यस प्रकारको मागलाई अस्वीकार गरेका थिए । सरकारी टीभी समाचारमा अराग्चीको टिप्पणीका विषयमा ब्याख्या गरिएको छैन ।

इरान तथा विश्वका छ शक्ति – अमेरिका, रसिया, चीन, बेलायत, फ्रान्स तथा जर्मनीले जुन ३० भन्दा अगाडि नै पारमाणविक सम्झौताको अन्तिम सर्त तय गरिसक्ने आशा व्यक्त गरेका छन् ।

इरानको कार्यक्रमले उसलाई पारमाणविक हतियार विकास गर्न दिने आशङ्का पश्चिमी मुलुकले गरेका छन् । इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गरेको छ ।

समाचारमा इरानी वैज्ञानिकसँग अन्तर्वार्ता लिने कुरालाई इरानी वार्ताकारहरूले अस्वीकार गरेको अराग्चीले बताउनुभयो भनी उल्लेख गरिएको थियो ।

उहाँले अमेरिकीहरू आफ्ना वैज्ञानिकको अन्तर्वार्ता लिने कुराको पछाडि परेको तर आफूहरूले त्यसलाई अस्वीकार गरेको बताउनुभयो ।

इरानी पारमाणविक वैज्ञानिकहरूमाथि इरान तथा अन्य मुलुकमा आक्रमण भइरहेको छ । इरानले यस्तो अन्तर्वार्तालाई आपराधिक सोधपुछको रूपमा लिएको बताइएको छ ।

प्रतिक्रिया