‘नागरिकलाई परेको दुःखप्रति राज्य चिन्तित छ’

इनेप्लिज २०७२ जेठ १० गते १३:५२ मा प्रकाशित

radha-ghyali-काठमाडौं, १० जेठ । ऊर्जा मन्त्री राधाकुमारी ज्ञवालीले भूकम्पबाट घर क्षति भएका नागरिकलाई राज्यले वर्षायाम अगाडि नै जस्तापाताको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भूकम्पबाट अतिप्रभावित धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको सल्यानटारमा भेला भएका भूकम्पपीडितलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “नागरिकलाई परेको दुःखप्रति राज्य अत्यन्त चिन्तित छ, अति दुर्गम गाउँमा सरकारले हेलिकप्टरबाट भए पनि जस्तापाता पुर्‍याउनेछ ।”

उहाँले भूकम्पले झन्डै ४७ जिल्लालाई प्रभाव पारेपनि धादिङलगायत १४ जिल्ला अतिप्रभावित भएकाले यी जिल्लाको शिक्षा र स्वास्थ्य सेवा सुचारु पार्न सरकारले पहल गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवाली धादिङबाट प्रतिनिधित्व गर्ने सभासद्, विभिन्न राजनीतिक पार्टीका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत सुरक्षा र विकाससँग सम्बन्धित कार्यालय प्रमुख सम्मिलित टोली लिएर भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएको थियो ।

उहाँलाई मन्त्रिपरिषद् बैठकले नै धादिङको स्थलगत अध्ययनको जिम्मा दिएको थियो ।

प्रतिक्रिया