जिरी, १० जेठ । शनिबार आएको हुरीबतासले जिरी नगरपालिका–५ स्थित जिरी बजारमा रहेको नुर्बु शेर्पाको घर भत्किएर जिरी बजारमा व्यापार गर्दै आएका ३८ वर्षीय महेश महतोको घटनास्थलमै मृत्यु भएको छ ।
भूकम्पले जीर्ण बनाएको घर भत्किएर चार जना पुरिएकामा महेशका छोरा राजनलाई सकुशल उद्धार गरिएको थियो । घाइते जिरी–५ का केशर कार्की, दोलखा जिल्ला फस्कु गाउँ विकास समिति वडा नं २ का श्याम श्रेष्ठको जिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक महेशको स्थायी घर धनुषा जिल्लाको सबैला गाविस–४ हो । विगत २५ वर्षदेखि जिरीमा निर्माण सामग्रीको बिक्री गर्दै आएका महतोका तीन छोरा र एक श्रीमती रहेका छन् । उनको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी धनुषा पठाइएको इलाका प्रहरी कार्यालय, जिरीका प्रहरी सहायक निरीक्षक प्रेम कार्कीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया