कालीगण्डकी थुनियो

इनेप्लिज २०७२ जेठ १० गते २:०७ मा प्रकाशित

Kaligandaki-Pahiroबााबियाचौर(म्याग्दी), १० जेठ । भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएको छ ।

आज बिहान १ बजे राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरको पहाडबाट खसेको पहिराले कालीगण्डकी थुनेको हो । करिब एक हजार ५०० मि माथिबाट पहाड भत्किएर खसेको पहिराले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पूरै रोकिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताउनुभयो ।

अँध्यारो भएकाले पानीको सतह कति बढेको छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन । पहिरो नियमित खसिरहेको छ । बैसरीमाथिका बस्तीमा डुबान र तलको तटीय क्षेत्रमा बाढीको खतरा रहेकाले सुरक्षा निकायले सतर्कता अपनाउन तथा सुरक्षाको उपाय अपनाउन सूचना जारी गरेका छन् । बैसरीमाथिका वेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दानालगायत ठाउँमा डुबानको खतरा रहेको छ ।

यसैगरी गलेश्वर, म्याग्दी बेनी, पर्वत बगर, पर्वत बेनीलगायत बागलुङ, पर्वत, स्याङ्जालगायत कालीगण्डकीको तटीय क्षेत्रमा पर्ने बस्ती जोखिममा रहेका छन् । सो स्थानमा शुक्रबारदेखि पहिरो खस्न थालेपछि बैसरी र राम्चे औलका २६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिइसकेको छ । बेनी र आसपासका बासिन्दा रातिदेखि नै सुरक्षित स्थानतर्फ लागेका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन ।

नेपाली सेना र प्रहरीले पनि नदी किनारका घरका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गरेका छन् । गत वैशाख १२ गतेको भूकम्प र त्यसयताका पराकम्पनका कारण चर्किएको पहाड भत्किएर पहिरो खसेको हो ।

प्रतिक्रिया