भूकम्पपीडितलाई जस्तापाता वितरण

इनेप्लिज २०७२ जेठ ९ गते १४:२५ मा प्रकाशित

jastapata-bitaranबागलुङ, ९ जेठ । ज्ञानोदय बुद्ध बिहार बागलुङको अगुवाइमा अन्य तीन संस्था मिलेर जिल्लाका भूकम्पपीडितलाई जस्तापाता वितरण गरेका छन् ।

भूकम्पले घर क्षतिग्रस्त भएका १८ परिवारलाई आज २३१ थान जस्तापाता वितरण गरिएको ज्ञानोदय बौद्ध बिहारले जनाएको छ ।

ज्ञानोदय बुद्ध बिहार, महिला बौद्ध सङ्घ, आशो ध्यान निरञ्जना केन्द्र र सौन्दर्य कला व्यवसायी सङ्घले उठाएको राहत रकमबाट जस्तापाता किनी भूकम्पपीडितलाई वितरण गरिएको हो ।

विभिन्न सङ्घबाट सङ्कलित राहत रु एक लाख ९२ हजार ९४० मध्ये रु एक लाख ८५ हजार बराबरको जस्तापाता वितरण गरिएको बिहारका अध्यक्ष मुकुन्द शाक्यले बताउनुभयो ।

बाँकी रकमबाट दैनिक प्रयोजनका सरसफाइ र सौन्दर्य सामग्री वितरण गरिएको छ ।

जस्तापाता पाउनेमा बागलुङ नगरपालिका वडा नं ५ का आठ, वडा नं ३ का चार, वडा नं ९ का चार, वडा नं ४ का एक परिवार र रायडाँडा गाविसमा रहेको शान्ति बुद्ध विहार रहेको छ ।

अधिकांश परिवारलाई १३ वटाका दरले जस्तापाता दिइएको छ भने रायडाँडामा क्षतिग्रस्त बनेको शान्ति बुद्ध बिहारको लागि २२ वटा जस्तापाता दिइएको छ ।

बिहारले बर्सेनि मनाउने बुद्ध जयन्तीमा हुने खर्च यो वर्ष भूकम्पपीडितको राहतको लागि खर्चेको हो । “भूकम्पका कारण यो वर्ष बुद्ध जयन्तीको सबै कार्यक्रम स्थगन गरेर त्यसमा लाग्ने खर्च पीडितलाई प्रदान गरेका हौं”–अध्यक्ष शाक्यले भन्नुभयो ।

राहत वितरण गर्दै प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले घरविहीनको व्यवस्थापन वर्षाअघि नै गरिसक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया