आइतबार, साउन १७ २०७८
काठमाडौं ०७:०२
वासिङटन डिसी 21:17

दुई ठूला भूकम्पबाट बच्न पाउँदा मक्ख परेकी फुलमाया

इनेप्लिज २०७२ जेठ ८ गते १४:०६ मा प्रकाशित

FUL-MAYA-GURUNGपात्ले (धादिङ), जेठ ८ – बारीमा डन्डीबियो खेलिरहेको थिएँ । बारीको पाटो तलमाथि, तलमाथि भएर पूरै घुमेजस्तो लाग्यो । म आत्तिएर चिच्याएँ । उठ्न खोच्छु नसकेर तीन बल्ड्याङ लडेँ । खाल्टे–१, पात्ले निवासी फुलमाया गुरुङले विसं १९९० को भूकम्प आउँदाको अनुभव सुनाउँदै भने, “सारा जमिन केले हल्लायो थाहा थिएन, पछि सबैले भुइँचालो आयो भनेपछि थाहा पाएँ, केटाकेटी उमेर (सात वर्ष) बलियालाई पनि भुइँचालोले ढाल्ने रहेछ, मनमा लाग्थ्यो ।” त्यो बेला फुलमायाको गाउँ एकैछिनमा सबै लडेको थियो । फुलमायाले विगत स्मरण गर्दै भनिन्, “भुइँचालोले सबैका घर लडायो, मान्छे बाँच्यो, यसमै खुसी हुनुपर्छ बुबाआमा भन्नुहुन्थ्यो, त्यो बेला धेरै दिन भैँसी गोठको भकारी बारेर बस्यौँ ।” सेतै फुलेको कपाल, नाकमा ठूलो बुलाकी लगाएकी निरोगी, प्रष्ट रुपमा कान सुन्ने, आँखा राम्ररी देख्ने चङ्की पाराकी ८९ वर्षकी फुलमायालाई दुईवटा ठूलो भूकम्पबाट बाँच्न पाएकोमा नयाँ जीवन पाएको महसुस भइरहेछ । यसपालिको भूकम्प आउँदा भने मरिन्छ कि भन्ने डर लागेको थियो उनीलाई । “भुइँचालो आउँदा आँगनमा थिएँ, बेस्सरी हल्लायो, भाग्न सकिनँ, घर ढलिहाल्यो, धन्न बाँचे ।” उनीलाई १९९० सालको र २०७२ सालको दुवै भुइँचालो डरलाग्दो लागेको छ । फुलमायाले भनिन्, “भुइँचालो जानेबित्तिकै जेठो छोरा गोपीलाल जोतिरहेको हल गोरु छोडेर आमा–आमा भन्दै कुँदेर आएछ, तर म ठीक थिएँ ।” फूलमाया मात्र होइन, त्यही गाउँमा ९० वर्षका कर्णबहादुर गुरुङ पनि ठूला दुई भूकम्पमा बाँच्न पाएकामा खुसी छन् । उनी नौ वर्षको हुँदा नब्बे सालको भूकम्प आएको थियो । त्यो बेला सारा बस्ती ढलेर धेरै दिन भोकै बसेको याद छ उनलाई । यसपालिको भूकम्प आउनुअघि उनी घरभित्रै थिए ।   श्रवण शक्ति कमजोर रहे पनि प्रस्ट रुपमा आँखा देख्ने कर्णबहादुर आफू बाँचेकामा खुसी व्यक्त गर्दै थप्, “घर बाहिर निस्कन भ्याइयो, बाँच्च लेखेको रैछ, संयोगले बाँचे ।” भुइँचालोले हल्लाउनेबित्तिकै तुरुन्तै घरहरु लडिहाले पाँच छोरी र तीन छोराका बाबुलाई घर कसरी बनाउने र के खाने भन्ने चिन्ता लागेको छ अहिले । विसं १९९० को भूकम्पले पात्लेका सबै बस्तीका घर भत्किएजस्तै यसपालि पनि पात्ले गाउँका ९७ घर पूरै भत्किए । तर, मानवीय क्षति भने भएनन् । दर्जनौँ गाईबस्तु, बाख्रा भने पुरिएर मरे । भौतिक क्षति भए पनि मानवीय क्षति नभएकामा गाउँवासी खुसी छन् ।

साभार:रातो पाटी

प्रतिक्रिया