मंगलबार, साउन १२ २०७८
काठमाडौं ०४:३७
वासिङटन डिसी 18:52

छ महिनाका लागि पुग्ने खाद्यान्न भण्डारण गर्छौं: आपूर्तिमन्त्री थापा

इनेप्लिज २०७२ जेठ ८ गते ९:३८ मा प्रकाशित

sunil-thapa-ministorकाठमाडौं, ८ जेठ । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले भूकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिका बेला आपूर्ति व्यवस्था सहज पार्न आगामी छ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भूकम्पप्रभावित र सम्भावित बाढी पहिरो आउन सक्ने क्षेत्रलाई लक्षित गरेर खाद्यान्न भण्डारणको व्यवस्था गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको अभाव हुन नदिन मुख्यमुख्य स्थानमा सञ्चित गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

मन्त्री थापाले राजधानी भित्रिने पृथ्वी राजमार्ग अवरुद्ध भए बिपी राजमार्ग हुँदै पेट्रोलियम पदार्थ आयात गर्ने तयारी भइसकेको बताउनुभयो । उहाँले साधन स्रोतको अभावले राहत वितरणमा केही कमजोरी भए पनि आगामी एक महिनाभित्र मङ्सिर÷पुससम्मलाई पुग्ने खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने दृढता व्यक्त गर्नुभयो ।

मन्त्री थापाले भूकम्प आउनुपूर्व नेपालसँग एक लाख ५० हजार क्विन्टल खाद्यान्न भण्डारण रहेकामा एक लाख क्विन्टल वितरण भइसकेको जानकारी दिनुभयो । उहाँले आगामी तीन महिनाको लागि भूकम्पपीडितलाई खाद्यान्न वितरण गर्न विश्व खाद्य सङ्गठनसँग सम्झौता हुन लागेको जानकारी दिनुभयो ।

आगामी दिनमा आउनसक्ने विपत्तिका बेला तत्काल खाद्यान्न सङ्कट हुन नदिन काठमाडाँैमा चार हजार र पूर्वको लहानमा दुई हजार मेट्रिक टन खाद्यान्न भण्डारण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यस्तै काठमाडौँसहित धेरै खुला स्थानमा १५ देखि २० परिवार अट्ने गरी सामुदायिक भवन निर्माण गर्ने तयारी भइरहेको भन्दै त्यस्तो भवन आगामी दिनमा विपत्ति आउँदासमेत आश्रय स्थल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया