सशस्त्र प्रहरीको ‘हात बढाऊ, साथी जोगाऊ’ कार्यक्रम

इनेप्लिज २०७२ जेठ ३ गते ३:०६ मा प्रकाशित

सशस्त्र-प्रहरी-बलकाठमाडौँ, ३ जेठ । सशस्त्र प्रहरी बलले भूकम्पबाट घरबारविहीन आफ्ना सशस्त्र प्रहरी कर्मचारीको पुनर्वासका लागि रु ४० करोडभन्दा बढीको एकमुष्ट कल्याणकारी योजना घोषणा गरेको छ ।

भूकम्पले क्षति व्यहोरेका सशस्त्र प्रहरी कर्मचारीलाई सहयोग पुर्‍याउन बलले ल्याएको सो नवीन योजनालाई ‘हात बढाऊ, साथी जोगाऊ’ कार्यक्रम नाम दिइएको छ । सो कार्यक्रमका लागि सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीले दुई वर्षसम्म दैनिक रु १० का दरले सहयोग पु¥याउने जनाइएको छ ।

उक्त कार्यक्रमअनुसार हाल राहतस्वरुप करिब रु ३० करोड पछि फिर्ता गर्नु नपर्ने गरी पीडित सशस्त्र प्रहरी कर्मचारीलाई नगदै वितरण गरिने तथा कम्तीमा थप रु १० करोडको विपत्ति राहत कोष स्थापना गरी आगामी दिनमा विपत्तिमा पर्न सक्ने सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम प्रदान गरिने छ । सोबाहेक न्यूनतम ब्याजदरमा दामासाहीले रु साढे दुई लाखदेखि रु छ लाखसम्म ऋण सहयोग गर्ने बलका प्रहरीनायब उपरीक्षक अजय छत्कुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरी कर्मचारीलाई दामासाहीले बिनाब्याजमा एक महिनाको तलबबराबरको रकम सापटीस्वरुप प्रदान गरिने, मृत्यु भएका कर्मचारीका एक सन्ततिलाई १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिने, भूकम्प प्रतिरोधात्मक घर बनाउन सम्पूर्ण प्राविधिक सहयोग उपलब्ध गराइने लगायत कार्यक्रम छन् ।

भूकम्पबाट घरबारविहीन तथा घरको क्षति भएका सशस्त्र प्रहरी कर्मचारीलाई राहत पुर्‍याउने अभिप्रायले सो नवीन योजनामा बल कल्याणकारी सेवा केन्द्रले सो रकमबाहेक न्यूनतम ब्याजदरमा पाँच वर्षीय किस्तामा भुक्तान हुने गरी ऋण सहयोगसमेत प्रदान गर्नेछ । ऋण सहयोग रु साढे दुई लाखदेखि रु छ लाखसम्म दामासाहीले प्रदान गरिने र सोका लागि थप केही रकमसमेत छुट्याइएको बलले जनाएको छ ।

प्रतिक्रिया