बुरुन्डीमा असफल सैनिक विद्रोहपछि राष्ट्रपतिद्वारा विरोध प्रदर्शन रोक्न आग्रह

इनेप्लिज २०७२ जेठ २ गते १५:४८ मा प्रकाशित

बुजुम्बुरा (बुरुन्डी), २ जेठ । बुरुन्डीका राष्ट्रपति पिएरे एनकुरुन्जिजाले आफूलाई बर्खास्त गर्ने प्रयास गरिएको सैनिक बिद्रोह दबाउन सहयोग गरेका आफ्ना सुरक्षा सेनालाई धन्यवाद दिनुभएको छ र उहाँले तेस्रो कार्यकालका लागि उम्मेदवार हुने निर्णय गरेपछि आरम्भ भएको विरोध प्रदर्शन तत्कालै रोक्न आग्रह गर्नुभएको छ ।

एनकुरुन्जिजाको गाडी शुक्रबार राजधानी आइपुगेको र उहाँ राष्ट्रपति निवासमा फर्कनुभएको उहाँका प्रवक्ता जर्वाइस अबायहोले बताउनुभयो । राष्ट्रपति सार्वजनिक रूपमा उपस्थित हुनुभएन ।

राष्ट्रपति एनकुरुन्जिजालाई पदमुक्त गर्न प्रयास गर्ने तीन सैनिक जनरल एक घरमा लुकिरहेको अवस्थामा फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको छ । अर्का एक वरिष्ठ सुरक्षा अधिकारीलाई तान्जानियातर्फ भाग्न खोजिरहेको अवस्थामा पक्राउ गरिएको अबायहोले बताउनुभयो । मेजर जनरल गडफ्रड नियोम्बार अझै फरार रहेको र निजको खोजी भइरहेको बताइएको छ । रासस/एपी

प्रतिक्रिया