सोमबार, माघ ३ २०७८
काठमाडौं ०४:०९
वासिङटन डिसी 17:24

हेलिकप्टर दुर्घटनाबाट प्रधानमन्त्री दुःखित, अमेरिकी राष्ट्रपतिलाई समवेदना

इनेप्लिज २०७२ जेठ २ गते १५:३९ मा प्रकाशित

Sushil Koirala_20140301085610_20140302034240काठमाडौँ, २ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्पपीडितको उद्धारमा सघाउन ल्याइएको अमेरिकी हुवे हेलिकप्टर दुर्घटनाग्रस्त भई त्यसमा सवार चालकदलका सदस्यसहित उद्धारकर्मीको असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले दुर्घटनामा परी जीवन गुमाउने वीर नेपाली सेना र अमेरिकी सेनाका राष्ट्रसेवकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

भूकम्पबाट पीडित नेपालीलाई उद्धार गर्न आएका अमेरिकी सेनाका जवानहरुको हेलिकप्टर दुर्घटनामा निधन भएकोमा प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई शुक्रबार एक समवेदना सन्देश पनि पठाउनुभएको छ ।

सन्देशमा उहाँले ती साहसी वीर हामीबीच नरहे पनि नेपाली जनताको मनमा सधैँभरि रहने बताउनुभएको छ ।

समवेदना सन्देशमा प्रधानमन्त्रीले समस्त नेपाली भूकम्पको त्रासमा रहेका बेला हाम्रो दुःखमा साथै रहेर पीडाबाट मुक्त पार्न अमेरिकी राष्ट्रपति र सरकारले गरेको सहयोगप्रति कृतज्ञता पनि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति ओबामाद्वारा समवेदना

यसैबीच, अमेरिकी राष्ट्रपति ओबामाले नेपालको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएका आफ्ना सैनिक अधिकृत तथा नेपाली सेनाका अधिकारीहरुको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा गहिरो शोक व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

अमेरिकी संसद् बाहिर शुक्रबार भएको स्मृतिसभामा राष्ट्रपति ओबामाले “हाम्रा सैनिकले एउटा सत्यको प्रतिनिधित्व गर्छन् जसले विश्वभर हुने हाम्रा कामलाई निर्देशित गर्छ, हाम्रा मित्रलाई सहायता आवश्यक हुँदा अमेरिकाले सघाउँछ,” भन्नुभएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

प्रतिक्रिया