काठमाडौँ, २ जेठ । सडक विभागले गोरखाको बारपाकदेखि लाप्राकसम्मको २० किमि सडकबाहेक अरु सबै सडक खुलिसकेको जनाएको छ ।
वैशाख १२ गतेको भूकम्पले विच्छेद भएका सडक सञ्जाललाई सफा गरी यातायात सञ्चालन गरिए पनि २९ गतेको भूकम्पले सिन्धुपाल्चोक, दोलखा र रसुवाका विभिन्न सडकखण्डमा पहिरो गई अवरोध आएको थियो । शुक्रबारसम्म यी सबै सडकलाई सफा गरी यातायात सञ्चालन भएको विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक एवम् प्रवक्ता उमेश झाले बारपाकदेखि लाप्राकसम्मको सडक पनि शनिबारबाट खुलाउने प्रयास भइरहेको बताउनुभयो ।
यातायात सञ्चालन हुने ठूला पुलमा भने २९ गतेको भूकम्पले कुनै अवरोध नभएको विभागका महानिर्देशक माधवकुमार कार्कीले जानकारी दिनुभयो ।
“पुलमा ठूलो समस्या नदेखिए पनि सुक्ष्म अध्ययनका लागि समूह परिचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ, प्राविधिकको समूहले विस्तृत अध्ययन गरेपछि यस विषयमा थप भन्न सकिन्छ ”–उहाँले भन्नुभयो ।
पुल निर्माणमा संरचना र गुणस्तरमा सम्झौता नगरिएकाले धेरै क्षति नभएको विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ बताउनुहुन्छ ।
प्रतिक्रिया