भारतसँगको वार्ता सकारात्मक– चिनियाँ प्रधानमन्त्री केकियाङ्

इनेप्लिज २०७२ जेठ १ गते १५:४५ मा प्रकाशित

 

 

DSC01857-300x199बेइजिङ, १ जेठ । चिनियाँ प्रधानमन्त्री लि केकियाङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ ।

चीन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार त्यसतर्फ जानुभएको थियो । उहाँहरुबीच बिहीबारै वार्ता भएको बेइजिङबाट विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ प्रधानमन्त्री केकियाङ्ले भन्नुभयो– बिहीबार भएको वार्ताका क्रममा कतिपय साझा विषयहरुमा कुराकानी भएका छन् र ती कुराकानीमा अपेक्षाकृत सफलता हातलाग्ने सम्भावना बढेको छ ।

हामी कुराकानीका क्रममा निकै गहिराइसम्म पुग्यौँ र वार्तामा धेरै विषयहरु पनि समेटिएका छन्– उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केकियाङ्का अनुसार दुई देशबीचको सम्बन्धका लागि आवश्यक विषयवस्तुहरुमा कुराकानी भए र ती सबैको समाधानका साथै आपसी हितमा प्रयोग गर्न दुवै पक्षको पहल आवश्यक छ ।

चीनको ग्रेट हल अफ दि पिपुल्समा बिहीबार भएको वार्तापछि चिनियाँ प्रधानमन्त्रीले चिनियाँ समाचार समिति सिन्ह्वालाई यो प्रतिक्रिया दिनुभएको हो ।

साँचो अर्थमा हामीहरु हाम्रा आपसी अपेक्षा र भावनाहरुको नजिक पुगेका छौँ– प्रधानमन्त्री केकियाङ्ले भन्नुभयो ।

उता भारतीय प्रधानमन्त्री मोदीले पनि आफुलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले दिनुभएको न्यानो स्वागतले खुसी तुल्याएको अनुभव व्यक्त गर्नुभयो ।

बिहीबार चीन पुग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले सान्सी प्रान्तको राजधानी नगर सिआनमा स्वागत गर्नुभएको थियो । सियान चिनियाँ राष्ट्रपति सिको गृहनगर हो ।

उहाँले कुनैपनि विदेशी नेतालाई यसरी आफ्नो गृह नगरमा स्वागत गर्नुभएको यो नै पहिलो पटक हो ।

भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो– मलाई चिनियाँ राष्ट्रपति सिले गर्नुभएको हार्दिकता र स्वागतबाट मेरोमात्र नभएर एक अर्ब २५ करोड भारतीयको मन छोएको छ ।

मैले चिनियाँ प्रधानमन्त्री केकियाङसँग धेरै विषयमा छलफल गरेको छु र मलाई लाग्छ यस वार्ताले आगामी दिनमा भारत र चीनको सम्बधलाई सकारात्मक दिशातर्फ लैजान सघाउ पु¥याउने छ ।

हामीबीचको समन्वय र सहयोगले यी दुई देशलाई मात्र फाइदा पु¥याउने नभई विश्वलाई नै एउटा सकारात्मक सन्देश दिनेछ ।

तीन दिनको औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदी बिहीबार चीन पुग्नुभएको हो । उहाँ भारतको प्रधानमन्त्री भएपछि यो नै उहाँको पहिलो भ्रमण हो । रासस÷सिन्ह्वा

प्रतिक्रिया