सोमबार, माघ १० २०७८
काठमाडौं ०३:४०
वासिङटन डिसी 16:55

रुसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभ को ७४–रौं शुभजन्मोत्सव

इनेप्लिज २०७२ जेठ १ गते ४:२४ मा प्रकाशित

janibekov vladimir

रुसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभको नाम नेपालीहरुका लागि सुपरिचित छ । गतः वर्षमास्कोमा सम्पन्न भएको मैत्री समाजको सम्मेलनमा उनलाई रुस–नेपाल सहयोग तथा मैत्री समाजअन्तर्गत संरक्षक समितिका अध्यक्षको पदमा सर्वसम्मतिबाट पुनः निर्वाचित गरिएको छ । उनलेरुसको मैत्री प्रमण्डलको नेतृत्व गरी कैयौं पल्ट नेपालको यात्रा पनि गरिसकेका छन् र नेपालयात्राको समयमा नेपालीहरुसमक्ष रुस र नेपालबीच वैज्ञानिक क्षेत्रमा सहयोगको सम्भावनाबारेवक्तव्य समेत दिएका थिए ।आज सन् २०१५ को १३ मेईका दिन उनले जीवनको ७३ वसन्त पार गरी ७४–रौं वर्षमाप्रवेश गरेका छन् । स्मरण रहोस्, आफ्नो लगनशीलता र परिश्रमको आधारमा उनले एकपल्ट मात्रनभई पाँ–पाँचपल्ट अन्तरिक्षको उडान सम्पन्न गर्ने क्रममा दुईपल्ट खुला अन्तरिक्षमा समेतगोता लगाउने मौका पाएका थिए । यसरी उनले पृथ्वीबाहिर अन्तरिक्षमा जम्मा १४५ दिन १५न्टा ५८ मिनेट अन्तरिक्षमा बिताएका थिए र त्यसमध्ये खुला अन्तरिक्षमै मात्र पनि दुईपल्टगरी साढे आठ घन्टा गोता लगाएका थिए । पाँचैपल्ट अन्तरिक्षयानको कम्याण्डरको हैसियतले अन्तरिक्ष उडान सम्पन्न गर्ने भ्लादिमिर जानिबेकोभ सोभियत संघका ४३–सौं र विश्वकै ८६–यौंअन्तरिक्षयात्री हुन् ।

zanibekov.dube, paudyal&mandal

जर्मनको हिटलरी फौजको आक्रमणको विरुद्ध सोभियत संघका जनताहरुको महान्देशभक्तिपूर्ण युद्धको समयमा गोलाबारीको गड्गडाहटको भीषण आवाजको पृष्ठभूमिमा उज्बेकिस्तानको इस्कान्देर भनिने बस्तीमा सन् १९४२ को १३ मेईका दिन एक निरीह बालककोच्याँ–च्याँको स्वर गुन्जिएको थियो । त्यो शिशुस्वर भ्लादिमिर नाम दिइएको भावी अन्तरिक्षयात्रीको प्रथम आवाज थियो । रुसी भाषामा भ्लादिमिरको अर्थ हुन्छ – विश्वविजेता । पछित्यस बालकको स्वर रुसी भाषामा अन्तरिक्षमा समेत गुञ्जने छ र वास्तवमै कैयौंपल्ट पृथ्वीकोपरिक्रमा गरेर विश्वमै आफ्नो ख्याति पैmलाउने छ भन्ने त्यतिखेर कसैले पनि कल्पना गर्नसक्तैनथ्यो । उनको नाम भ्लादिमिर र थर पनि आफ्नो कुलनाम क्रिसिन त्यागेर जानिबेकोभराखिनुको पनि आफ्नै कथा छ । कुरा के त भने उनी जन्मनुभन्दा केही समयअगाडि भ्लादिमिर नामका उनका दाजुको देहान्त भएको हुँदा उनका पतिा अलेक्सान्द्र क्रिसिनले उनको नाउँजेठो छोराको स्मृतिमा भ्लादिमिर राखिदिएका थिए भने रुसी भाषामा छुचुन्द्रोको झल्को दिने क्रिसिन थरलाई लिएर स्कूलका सहपाठी साथीभाइहरुले खिसिट्युरी गर्ने भएकाले थर पनि फेरेरजानिबेकोभ बन्न पुगेका हुन् ।सन् १९६० को जनवरीमा दिल्लीबाट मलाई उडाएर ल्याएको सोभियत विमानलेउज्बेकिस्तानको राजधानीमा एक रात वास बस्ने समेत मौका दिंदा उनीे ताशकन्दस्थित सुभोरोभविद्यालयको पढाई समाप्त गर्दै रहेछन् । यसरी त्यतिखेर उनले जुन ठाउँको हावा सास फेरिरहेकाथिए त्यसै सहरको हावाले २४ घन्टासम्म मेरो सास पनि संचालित गरेको थियो भन्न सकिन्छ ।

Zanibekovsolovievsapkota

जतिखेर म मास्को राजकीय विश्वविद्यालयमा मानविकी विषयको अध्ययन गर्दै थिएँ त्यति वेलाभ्लादिमिर जानिबेकोभ पनि त्यसै विश्वविद्यालयमा भौतिकशास्त्र संकायमा अध्ययन गर्दै थिए ।विश्वविद्यालय भवनको एक लङमा म र अर्को लङमा उनी बस्ने कला र विज्ञानका विद्यार्थीहरुकोशुभेच्छादेग्लाबेग्लै छात्रावास भए पनि सबै विद्यार्थीहरुको भोजनालय आदि त एकै ठाउँमा हुँदादेखादेख पनि भएको हुनु सम्भव छ । तर युरी गागारिनले विश्वमा पहिलो भई अन्तरिक्षको उडानगरेपछि भ्लादिमिर जानिबेकोभले पनि अन्तरिक्षयात्री बन्ने कल्पना गरेर भौतिक शास्त्रको अध्ययनलाई तिलाञ्जली दिई क्रास्नोदार प्रदेशमा रहेको एइस्क उच्च उड्डयन शिक्षालयमाभर्ना हुन प्रस्थान गरे (त्यो शिक्षालय उनले १९६५ मा पूरा गरेका थिए) ।

प्रसंगवश के पनिभनिहालौं भने म पनि उनलाई पछ्याउँदै क्रास्नोदारको ‘कम्सामोलेत्स कुबानी’ (कुबानको तरुण कम्युनिष्ट) भन्ने अखबारमा व्यावहारिक अभ्यासको लागि क्रास्नोदार नगरमा पुगेको थिएँ । त्यसै सालको ग्रीष्मयाममा विश्वकी प्रथम नारी अन्तरिक्षयात्री भालेन्टिनातेरेश्कोभाले अन्तरिक्षको सफल उडान गरेकी थिएन् र उक्त समाचारपत्रमा ‘म आश्चर्यचकित छु’भन्ने शीर्षकमा मेरो प्रतिक्रिया समेत छापिएको थियो (पछि मैले मास्कोमा विश्वकी प्रथम नारीअन्तरिक्षयात्रीसँग पनि परिचित हुने सुअवसर पाएको थिएँ) । व्यावहारिक अभ्यासको क्रममा रुसको दक्षिणमा अवस्थित त्यस विशाल प्रदेशका केही इलाकाहरुको भ्रमण गर्ने अवसर पाइए पनि भावीअन्तरिक्षयात्रीसंग त्यहाँ मेरो जम्काभेट भने नहुनु कुनै आश्चर्यको कुरो भएन ।

zanibekov nepali dutavas

म भ्लादिमिर जानिबेकोभको नामसित उनले प्रथम अन्तरिक्ष उडान सम्पन्न गरेदेखि नै परिचितथिएँ । कुरा के त भने सन् १९७८ मा म रेडियो मास्कोको नेपाली सेवा संचालकको काम सम्हाल्दैथिएँ र त्यतिखेर अन्तरिक्ष विजयमा सोभियत संघले प्राप्त गरिरहेको प्रगतिबारे हरेक समाचारनेपाली श्रोताहरुको कानसम्म पुर्याउन तत्पर रहेको थिएँ । तर उनीसंग मेरो प्रत्यक्ष भेटपरिचयचाहिं त्यसको पनि दुई दशकपछि मात्र एक्काईसौं शताब्दीको आरम्भकै वर्ष रुसकोराजधानीेको केन्द्रमा रहेको मैत्रीगृह (हाल रुस सरकारको भवन) मा भएको थियो । त्यहाँ सन् २००१ को २९ नोभेम्बरका दिन रुसको नयाँ वातावरणमा पुनर्गठित रुस–नेपाल मैत्री तथा सहयोगसमाजको सम्मेलन सुसम्पन्न भएको थियो । त्यस सम्मेलनमा उपस्थित दुईपल्ट सोभियत वीरको उपाधिबाट विभूषित अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई सर्वसम्मतिबाट मैत्री समाजअन्तर्गतसंरक्षक परिषद्को अध्यक्षपदमा निर्वाचित गरिएको थियो । त्यसै दिन सम्मेलनको समाप्तिपछि मैलेमैत्री समाजको कार्यकारिणी समितिको एक सदस्यको हैसियतले पहिलो पल्ट प्रसिद्ध रुसीअन्तरिक्षयात्रीसंग कुराकनी गर्ने मौका पाएको थिएँ ।

यसरी नेपाल र नेपालीहरुसित सम्बन्धित हुन पुगेका रुसी अन्तरिक्षयात्रीको व्यक्तित्वको सन्दर्भमा पनि यहाँनेर संक्षेपमा चर्चा गर्नु युक्तिसंगत हुनेछ । त्यतिञ्जेलसम्ममा उनले सन् १९६५ मा उड्डयन शिक्षालय समाप्त गरेर हाल युक्रेनमा पर्ने तागान्रोग नगरमा ५ वर्षसम्मयानचालक प्रशिक्षकको हैसियतले काम गरे । सन् १९७० मा उनलाई तारानगरीस्थित अन्तरिक्षयात्री प्रशिक्षण केन्द्रमा तालिम लिन पठाइयो र उनले त्यहाँ २ वर्ष अन्तरिक्षयात्री बन्ने तालिमप्राप्त गरे । तत्पश्चात् उनले सन् १९७८ मा पहिलो पल्ट अन्तरिक्षयात्रा सम्पन्न गरे । यसरी उनलेसन् १९७८ देखि १९८५ सम्म ५ पल्ट अन्तरिक्षको यात्रा गरे । उनले सम्पन्न गरेकाअन्तरिक्षयात्राहरुमध्ये विश्वकी द्वितीय नारी अन्तरिक्षयात्री साभित्स्कायाको साथमा सम्पन्न गरिएको अन्तरिक्ष उडानका साथै मंगोलिया र फ्रान्सका प्रथम अन्तरिक्षयात्रीहरुको साथमा सम्पन्नगरिएका अन्तर्राष्ट्रिय अन्तरिक्ष उडानहरु विशेष उल्लेख्य छन् । सन् १९८५ मा सम्पन्न गरिएकोउनको पछिल्लो अन्तरिक्ष उडानको क्रममा उनले पृथ्वीसँग सम्पर्क नरहेको ‘सोयूज ७’ कोमर्मत गरेर त्यसलाई नवजीवन दिएका थिए भने सन् १९९२ को अन्त्यतिर सोभियत संघ तथा संयुक्तराज्य अमेरिकाको संयुक्त अन्तरिक्ष उडान ‘सोयूज–आप्पोलो’ को जगेरा अन्तरिक्ष टोलीकोकम्याण्डर बन्ने तालिम प्राप्त गरेका थिए । उनले सन् १९९० देखि १९९७ सम्म सात वर्षजति धेरैपल्टअन्तरिक्षको उडानमा प्रयोग हुन सक्ने अन्तरिक्षयान ‘बुरान’ को महत्वाकांक्षी परियोजनामासमेत काम गरेका थिए ।सन् १९६५ मा सोभियत सेनाको लप्टन पदमा नियुक्ति पाएपछि तरक्की गर्दै २० वर्षकोसमयावधिमा सन् १९८५ मा वायुसेनाको मेजर–जर्नेलको पदसम्म ओगट्न पुगेका भ्लादिमिरजानिबेकोभले सन् १९९७ देखि अवकासप्राप्त गरेका छन् । सोभियत राजकीय पुरस्कार विजेता समेत रहेकानेपालका परम् मित्र अन्तरिक्षयात्री थुप्रै पदक र उपाधिद्वारा विभूषित गरिएका छन् ।

पाँचवटा ‘लेनिन पदक’ का साथै ‘लाल तारा’ पदक, ‘मैत्री पदक’, इत्यादि उच्च राजकीय पदकहरुकाअतिरिक्त उनले सन् १९७८ र सन् १९८१ मा दुईपल्ट सेभियत संघवीरको उपाधि प्राप्त गरेका छन् रसो वापत् पाइने ‘स्वर्णतारा’ पदक उनले आफ्नो कोटको कलरमा भिरेका हुन्छन् ।भ्लादिमिर जानिबेकोभले आफ्नो जीवनको निकै समय अन्तरिक्ष विज्ञानको विकासको क्षेत्रमालगाएका छन् । तर यत्तिकै मात्र उनको कृतित्वको परिचय होइन । उनी विभिन्न किसिमको प्राविधिकयन्त्रउपकरण आपैm बनाउन सक्तछन् । उनले ब्यारोमेट्रिक र अन्तरिक्ष घडी समेत बनाएका छन् ।अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभ चित्रकारितामा समेत अभिरुचि राख्तछन् र उनले खास गरीअन्तरिक्षको विषयवस्तुमा चित्र लेख्ने गरेका छन् । रुस र युक्रेनका विभिन्न नगरहरुका साथै भारत, चीन,फ्रान्स, जर्मनी, संयुक्तराज्य अमेरिका आदि देशहरुमा उनका चित्रहरुको प्रदर्शनी सम्पन्नभइसकेको छ । कुनै वेला उनी सोभियत चित्रकार संघका सदस्य समेत रहिआएका थिए भने सन् २०१०देखि उनी रुसका अन्तरिक्षविज्ञान संग्रहालय संघका अध्यक्ष रहेका छन् ।यसप्रकार सांस्कृतिक कार्यका अतिरिक्त उनले सामाजिक कार्यमा समेत निकै सक्रियताको प्रदर्शनगरिरहेका छन् । उदाहरणको रुपमा भन्ने हो भने उनले सन् १९७० मा सोभियत कम्युनिष्टपार्टीको सदस्यता प्राप्त गरेका थिए र पार्टीको अठारौं महाधिवेशन (सन् १९७८) मा भाग लिनुका

साथै उज्बेकिस्तानको सर्वोच्च सोभियतमा प्रतिनिधि (सन् १९८०–१९९०) समेत चुनिएका थिए । सन् १९९१ मउनले कम्युनिष्ट पार्टीको सदस्यता त्यागे पनि सन् १९९५ मा रुसको राजकीय दूमाको चुनावमा समेतभाग लिन तम्सिएका थिए, तर राजनैतिक कार्यलाई तिलाञ्जली दिंदै आफ्नो उम्मेदवारीफिर्तालिए ।

zanibekov saltikova&KPSत्यसपश्चात् उनले सामाजिक क्षेत्रमा मात्र क्रियाशील रहने अठोट गरेको बुझिन्छ । सन्१९७८–१९९१ मा सोभियत–स्पेन मैत्री समाजको उपाध्यक्ष पदमा क्रियाशील रहेका अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभले पछिल्लो डेढ दशक रुस–नेपाल मैत्री तथा सहयोग समाजकोक्रियाकलापमा अर्पण गरेका छन् र यो हामी नेपालीहरुका लागि गर्वको कुरा बनेको छ ।रुस–नेपाल मैत्री समाजका द्वितीय अध्यक्ष अन्तरिक्ष यात्री यूरी मालिशेभको निधनपश्चात्भ्लादिमिर जानिबेकोभले नै रुसमा नेपालसित सम्बन्ध विकासको कार्यमा विगत आधा शताब्दीभन्दाबढी समयदेखि गहकिलो योगदान पु¥याउँदै आएको यस संस्थाको क्रियाकलापमा सक्रिय भागलिंदै आएका छन् । उनले मास्कोमा रहेका नेपालीहरुलाई तारानगरीमा रहेको अन्तरिक्ष प्रशिक्षण केन्द्रको अवलोकन गराएको मलाई सम्झना भएर आयो ।

एकपल्टको यस्तै अवलोकनकार्यक्रममा उनले त्यहाँ रहेको अन्तरिक्ष संग्रहालयको मात्र अवलोकन गराएको नभईविदेशीहरुलाई अक्सर विरलै मात्र प्रवेश दिइने अन्तरिक्षयात्री प्रशिक्षण केन्द्रभित्रै लगेरत्यहाँका यन्त्रउपकरणहरुको जानकारी दिएका थिए । हामीले अहिले पनि अन्तरिक्षमा कार्यरत अन्तर्राष्ट्रिय कक्षीय वैज्ञानिक स्टेशनको हूबहू अनुकृतिभित्र पसेर पनि हेर्ने सम्भावना पाएकाथियौं…सोभियत–नेपाल मैत्री समाजको स्थापनाकाल (सन् १९६३ को २२ नोभेम्बर) देखि नै म यस संस्थाका सम्पूर्ण कार्यक्रमहरुको सहभागी रहिआएको थिएँ र नयाँ रुसको अवस्थामाविदेशीहरुले पनि मैत्री समाजको सदस्यता पाउने स्थिति कायम भएपछि मैले सुरुमा यस संस्थाकोउपाध्यक्ष र पछि प्रकाशन–प्रमुखसम्म बनेर काम गर्ने अवसर पाएको छु । त्यसैले नेपालका परम्मित्र अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभसँग वेला वेलामा भेट्ने र कुराकानी गर्ने अवसरपाइरहेको छु । उनले अन्तरिक्षयात्री यूरी मालिशेभद्वारा स्थापित प्रशंसनीय परम्परालाई कायमराख्दै रुस–नेपाल मैत्री विकासमा गहकिलो योगदान पु¥याइरहेका छन् । आफ्नो सामाजिक कार्यमाभ्लादिमिर जानिबेकोभले रुस र नेपालबीच जनस्तरमा मैत्री सम्बन्धको विकासलाई अग्रगण्यस्थानमा राखेका छन् भन्नु अत्युक्ति हुने छैन ।

यसै साल मास्कोको नेपाली–भारतीय रेष्टुराँ ‘तुन्दुर’ को एक कक्षमा मैत्री समाजकोपुनर्गठन र नवीकरणको सन्दर्भमा १७ जनवरी २०१५ (श्निवार) सम्पन्न सम्मेलनमा रुसका उद्यमी मिखाइल नेक्रासोभको अध्यक्षतामा नयाँ कार्यकारिणी समिति गठन गरिएको छ भने अन्तरिक्षयात्रीभ्लादिमिर जानिबेकोभ चाहिं नयाँ काँचुली फेरेर देखापरेको रुस नेपाल सहयोग तथा मैत्री समाजअन्तर्गत संरक्षक परिषदको पूर्ववत् सर्वसमर्थित अध्यक्ष निर्वाचित भएका छन् ।

त्यसै भव्यवातावरणमा रुसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममा विश्व नेपालीसाहित्य महासंघ रुस शाखाको तर्पmबाट आदिकविका कविताहरुको रुसी अनुवादसहित ‘लोकको गरुँहित् भनी’ शीर्षकमा प्रकाशित द्विभाषिक संग्रह तथा डा. ऋषिकान्त मण्डलको प्रकाशन सहयोगमारुसी भाषामा प्रकाशित मैथिली लोकसाहित्यका हस्ती गोनु झाको ‘कथाकुथुङ्ग्री’ का साथैदिवंगत नेपलविद् अलेक्सान्द्र लेद्कोभलिखित ‘नेपालको इतिहास ः बीसौं शताब्दी’शीर्षकको पुस्तक पनि अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई उपहारस्वरुप प्रदान गर्न पाएकोथिएँ…नेपालसंग सहयोग तथा मैत्री सम्बन्ध समाजको संरक्षक समितिका अध्यक्ष, दुई पटकसोभियत संघवीरको उपाधिप्राप्त प्रसिद्ध रुसी अन्तरिक्षयात्री भ्लादिमिर अलेक्सान्द्रोभिचजानिबेकोभको ७३ वर्ष पूरा भई ७४–रौं वर्षरम्भको शुभजन्मोत्सवको सुखद अवसरमा समस्तनेपालीहरूको तर्पmबाट उनको आरोग्यता, दीर्घायु, सुखसमृद्धि, उन्नति र उत्तरोत्तर सफलताकोहार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया