२३ वर्षकी बिनिता २२ बालबालिकाकी ‘मम्मी’

इनेप्लिज २०७२ वैशाख ३१ गते १५:२५ मा प्रकाशित

लक्ष्मी काफ्ले

10505313_282930375224628_6104354583549535142_nबिर्तामोड, ३१ वैशाख। मध्य बैशाखको चर्को गर्मी । गर्मीले गुम्सिएको एउटा ठूलो हल (कोठा) । त्यो हलभरी विभिन्न उमेरका २२ जना बालबालिका । कोही निदाएका, कोही भाँडाकुटी खेल्दै, कोही ल्यापटपमा फिल्म हेर्दै अनि कोही ‘मामु भोक लाग्यो’ भन्दै । दृष्य हो बिर्तामोड कनकाई स्वीमिङ कम्प्लेक्स भित्र चाहना समूहको आश्रयमा बसोबास गरिरहेका भूकम्प पीडित अनाथ बालबलिकाको ।

काठ्माण्डौं धापासीस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ नामक संस्थाका यी बालबालिका गत वैशाख १२ गतेको विनाशकारी महाभूकम्पबाट विस्थापित बनेर झापा आईपुगेका हुन् । भूकम्पले क्षतिग्रस्त बनेको काठ्माण्डौमा बस्न नसकेपछि उनीहरु चाहना समूहको आश्रयमा आईपुगे ।

भूकम्प आउँदैछ भन्ने कसलाई पो थाहा हुन्छ र ? भूकम्प आउने दिन उनीहरुलाई एनजीओ चलाउने बसुन्धराकी एक महिलाले दिउँसो ११ बजेलाई खाना खान बोलाएकी थिईन् । तर, संस्थाकी संरक्षक विनिता अर्याल नानीहरुलाई लिएर साढे ११ मा मात्र घरबाट निस्किईन् । भूकम्पले जोड–जोडले हल्लाउन थालेपछि घरैघरको बिचबाट हिँडिरहेका उनीहरु एक्कासी आत्तिए । बिनिताले नानीहरुतिर आँखा पुर्याईन् । तर नानीहरुलाई मानिसहरुले किल्चिँदै भाग्दै थिए । छरपस्ट भएका नानीहरु सडकका गाडीबाट जोगिन खोज्दै थिए ।

11188192_835101876526589_3149256303027971371_n

उनीहरु बिनितातिर हेरेर ‘मम्मी–मम्मी’ भन्दै चिच्याउन थाले । बिनिताले हतार–हतार ती २२ जना बालबालिकालाई कुखुराले आफ्ना चल्ला लुकाएझैं गरी एकैपटक अँगालो हालेर सडकमै बसिन् । उनलाई सबैले हेरे । तर उनी सबैका लागि रमिता मात्र बनिन् । उनलाई कसैले मद्दत गर्ने साहस गरेन । ‘जब दोस्रो धक्का आउन सुरु भयो अब चाहिँ बाँचिदैन नै जस्तो लाग्यो,’ भक्कानिदै उनले भनिन्– ‘जीवन यति नै रहेछ जस्तो भयो । बच्चाहरुलाई कसरी बँचाउने भन्ने चिन्ताले सतायो । नानीहरुलाई पनि गडलाई प्रे गर्न भनें ।’ रुँदै उनले यी कुरा भनिरहँदा उनका ‘छोराछोरी’हरु आएर अटाई–नअटाई उनको काखमा बसे ।

गाडीबाट ओर्लिने मान्छेहरु सडकमै लड्दै थिए । सडकमा बच्चाले बिनितालाई अँगालो हालेर रोएको देख्दा मानिसहरु ती बच्च्चालाई छुन छेउमा आउँथे । ‘खाना खान धन्न आधा घण्टा ढिलो निस्किएँछु ।’ त्यो दिन सम्झिँदै उनी भन्छिन्– ‘बेलैमा पुगेको भए त्यै घरले किचेर सबैलाई मार्ने रहेछ ।’ त्यस दिन उनीहरु खाना खाने घरसम्म पुग्न पनि पाएनन् । खाना खान हिँडेर गएकाले गोजीमा पैसा पनि थिएन । भूकम्पको त्रासले सबै पसल बन्द भईसकेका थिए । उनीहरुले दिनभर पानी पनि खान पाएनन् ।

1384289_199535043564162_1955404256_n‘नानीहरुलाई ट्याक्सीमा घर लैजान खोजें । तर १५० मा लैजाने ट्याक्सीले त्यो दिन हजार रुपैयाँ माग्यो ।’ आँशुको ढिका पुछ्दै उनले भनिन्– ‘जसोतसो घरसम्म त पुर्याएँ तर नानीहरु रातभर सुत्नै सकेनन् ।’ बिनितालाई अब बच्चालाई पहिलाको स्थितिमा कसरी ल्याउने, उनीहरुलाई कसरी बँचाउने भन्ने चिन्ताले सताउन थाल्यो । त्यस अवस्थामा उनले कहिँ कत्तैबाट पनि सहयोग पाईनन् । त्यस्तो शहरमा नानीहरुको ज्यान बचाउन सक्नु नै ठूलो कुरा भयो बिनिताका लागि । ‘एक दिन त मर्ने नै हो । भूकम्पलाई आईज हामीलाई लैजा भनुम्,’ नानीहरुको बीचमा बसेर त्यो दिन उनले यसो भनेकी थिईन्– ‘मर्दा पनि मम्मीसँगै मर्ने हो, बाँच्दा पनि मम्मीसँगै ।’

कसरी झापा आईन् बिनिता ?
उनी नगरपालिकाले राहत बाँडेको ठाउँमा नानीहरुलाई लिएर दिनभर लाईन् बसिन् । ‘दिनभर बस्दा पनि राहत नपाएपछि चाहिँ मरिन्छ कि जस्तै लाग्यो,’ भन्छिन्– ‘चाहनाको दाईहरु चिनेकी थिएँ अनि फोन गरेर सबै कुरा सुनाएँ ।’ चाहना समूहका युवाहरुले तत्काल उनीहरुलाई बिर्तामोड ल्याए, जहाँ उनीहरु भूकम्पको त्रास बिर्सने कोसिस गर्दैछन् । यहाँ उनीहरुलाई आवश्यक सहयोग जुटिरहेकै छ । उनीहरु यहाँ रहुञ्जेल बिर्तामोडस्थित बी एण्ड सी अस्पतालले बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । शिक्षासेवी जयनारायण ढुंगानाले बालबालिकालाई पढाईदिने भएका छन् । २२ जना बालबालिकाकी ‘मम्मी’ बिनिता त्यो विनाशकारी भूकम्पलाई सम्झन पनि चाहन्नन् । चाहनाको पहलमा संकलन भईरहेको राहतका कारण उनीहरु दुःख–सुख बसेका छन् । काठ्माण्डौंमा राहत पनि नपाएकी बिनिता अहिले उनका नानीहरुलाई दिनमा ४ पटकसम्म खुवाउन सक्ने भएकी छिन् ।
चाहना समूहका एक युवाले भने– ‘हामी बिनितालाई पहिले पनि सहयोग गथ्र्यौं । उनी अभर परेको सुन्नासाथ हामीले ल्याएर संरक्षण गर्न थाल्यौं ।’ सहयोगी हातहरु जुटिरहेको बताउने ती युवाले संकलित राहत सोझै बिनिताकै हातमा सुम्पिने गरेको बताए ।

11179943_835767009793409_3385003863250586749_n

को हुन् बिनिता ?
बिनिता अर्याल (२३) एक विवाहित महिला हुन् । झापा जिल्लामै हुर्केबढेकी बिनितालाई सानैदेखि समाजसेवा गर्न मन पथ्र्यो । कक्षा ६ मा पढ्दादेखि नै बिनिता बालबालिकाको रेखदेख गर्थिन् । त्यतिबेला बिनिताले एउटी बालिकाको खुट्टाको उपचार गरिदिएकी थिईन् । केही दिनपछि ती बालिकालाई भेट्न बिनिता विद्यालयको कक्षाकोठा पुगिन् । तर शौतेनी आमाले बेवास्ता गरिदिँदा ती बालिकाको ज्यान गएको उनले सुनिन् । वि.सं ०६६/०६७ तिर उनले पत्रिकामार्फत बाग्लुङमा अनाथ बालबालिका रहेको कुरा थाहा पाईन् । ६/६ महिनाको फरकमा आमाबाबु गुमाएका ५ जना बच्चाका बारेमा उनले पढेकी थिईन् । जब बिनिताको आँखा अभिभावक बिहीन ८ वर्षीया बालिका छिमेकीले दिएको मकै जाँतोमा पिसेर खाएको अनि अन्य बालबालिकाको प्राण मात्र बाँकी रहेको समाचारमा पुग्यो, उनले मन थाम्नै सकिनन् । ‘त्यो समाचार पढ्दै रुँदै गरें,’ त्यो क्षण सम्झिँदै उनी भन्छिन्– ‘तिनीहरुलाई पाल्ने अठोट गरें । तर सुरुमा कसैले विश्वासै गरेनन् ।’

तर ती नानीहरु संस्थालाई मात्र दिने, कोठामा बस्नेलाई नदिने भनेर बिनितालाई फर्काइयो । उनीहरुको आमा बन्ने सपना बोकेकी बिनिता निराश बनिन् । तर, ६ महिनासम्म बच्चा लिन कोही नआएपछि गाविस सचिवले बिनितालाई फोन गरेर नानीहरु लिन बोलाए । ‘१२ घण्टासम्म हिँडेर पानीमा भिज्दै–भिज्दै गएँ,’ भन्छिन्– ‘सामान्य प्रक्रिया पुर्याएर बाग्लुङबाट उनीहरुलाई काठ्माण्डौं ल्याएँ ।’

५ जना बालबालिकालाई कोठामा राखेर पालनपोषण गर्न बिनितालाई सहज थिएन । ५ जना बच्चाले ३ दिनमा ३० किलो चामल सिध्याइदिन्थे । सुरुमा उनलाई दर्ता पक्रियाबारे केही ज्ञान थिएन । तर, बुझ्नासाथ उनले ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ नामक संस्था दर्ता गरिन् । दर्ता गर्दासम्ममा उनी १२÷१४ जना बच्चाकी ‘मम्मी’ बनिसकेकी थिईन् । दर्ता प्रक्रियापछि विनिता अनाथ बालबालिकाको उद्दारमा लागिन् । पोको पारेर फ्याँकेको, जंगलमा फालेको २४ घण्टापछि उद्दार गरेको, सडकमा छाडिएका बच्चा उनले पाल्न थालिन् । फलतः ६ वर्षमै उनी २२ बालबालिकाकी ‘मम्मी’ बनिन् । ०६७ बाट सुरु भएको संस्थामा सुरुमा उनलाई महिनाको १०० रुपैयाँ दिने दाता जुटाउन पनि मुस्किल पथ्र्यो । तर, उनी अहिले ती कुरा सम्झन चाहन्नन् ।

11180296_835766953126748_2206774212703419471_n

बिनिता हाल आफ्नो पूरा समय बालबालिकालाई दिन्छिन् । आमाको माया थाहै नपाएका ती बच्चाहरु पनि आफ्नी आमालाई भन्दा कम माया गर्दैनन् बिनितालाई । बिनिताले बालबालिकालाई अनुशासन सिकाएकी छिन् । कोही नयाँ मानिस पुग्नासाथ बच्चाहरु उठेर नमस्कार गर्न थाल्छन् । त्यसपछि बिनिताको पालो सुरु हुन्छ– ‘नमस्ते म बिनिता । म यी बच्चाहरुको मम्मी । यीनीहरु मेरा छोराछोरी ।’ संस्था खोलेर यो काम थालेदेखि शिक्षित वर्गका नजरमा त बिनिता ‘महान’ बनिन् । तर उनी हाल आफ्नै परिवारबाट टाढा भएकी छिन् । उनलाई यो कार्यमा घरपरिवार अनि श्रीमानको समर्थन छैन । ‘तरपनि यिनै नानीको मुख हेरेर बसेकी छु,’ आखाँ भरी आँशु पार्दै विनिताले भनिन्– ‘यी नानीहरु हाँसेको देख्न पाए मलाई पुग्छ ।’ यनले यसो भनिरहँदा काखमा बसेकी दुई/अढाई वर्षकी बालिकाले बिनिताको आँशु पुछिदिँदै थिईन् ।

11210460_835766899793420_1864992340508064579_n

प्रतिक्रिया