शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:३१
वासिङटन डिसी 05:46

आइसीसी टी–ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्ने

इनेप्लिज २०७२ वैशाख ३१ गते १४:३१ मा प्रकाशित

729407345_1384489552काठमाडौँ, ३१ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले आगामी जुलाई ९ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा जुलाई १० मा अमेरिकासँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ ।

अर्काे वर्ष भारतमा हुने टी–ट्वान्टी विश्वकप छनोट चरणको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्नुपर्ने भएको छ ।

यस्तै, नेपालले ११ जुलाईमा नामिविया, १३ जुलाईमा आयरल्याण्ड, १५ जुलाईमा हङकङ, १७ जुलाईमा पपुवा न्यु गिनी तथा १८ जुलाईमा जर्सीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, आइसीसीले सार्वजनिक गरेको अभ्यास खेल तालिकाअनुसार प्रतियोगिताअघि नेपालले पहिलो अभ्यास खेलमा ६ जुलाईमा ओमान तथा दोस्रो अभ्यास खेलमा ७ जुलाईमा युएईसँग खेल्नेछ ।

प्रतियोगिताको अन्तिम खेल डब्लिनमा २६ जुलाईमा हुनेछ । प्रतियोगिताका शीर्ष ६ टोलीले अर्काे वर्ष (मार्च ११– अप्रिल ३) सम्म भारतमा हुने टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने छन् ।

स्कटल्याण्ड र युएईबीच जुलाई ९ तारिखमा इडेनवर्गमा उद्घाटन खेल हुनेछ । प्रतियोगिताको साविक विजेता आयरल्याण्ड हो । आयरल्याण्डले प्रतियोगितामा ह्याट्रिक गरिसकेको छ ।

प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका छन् । सहभागी १४ टोलीलाई आइसीसीले दुई समूहमा विभाजन गरेको छ ।

नेपाल सम्मिलित ‘समूह ए’ मा आयरल्याण्ड, हङकङ, पपुवा न्युगिनी (पीएनजी), नामिविया, अमेरिका र जर्सी रहेका छन् । यस्तै ‘समूह बी’ मा अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), नेदरल्याण्ड्स, स्कटल्याण्ड, क्यानाडा, केन्या र ओमान छन् ।

प्रतिक्रिया