शनिबार, साउन १६ २०७८
काठमाडौं ०२:३५
वासिङटन डिसी 16:50

भूकम्पबाट सर्वोच्च अदालतसहित चौध जिल्ला अदालत भवनमा क्षति

इनेप्लिज २०७२ वैशाख ३१ गते ३:२८ मा प्रकाशित

supreme_courtकाठमाडौँ, ३१ वैशाख । विनाशकारी भूकम्पका कारण सर्वोच्च अदालतसहित १४ जिल्लाका जिल्ला अदालतका भवनमा क्षति भएका कारण कार्यसम्पादन गर्न समस्या भएको छ ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सर्वोच्च अदालतको मुख्य भवनमा भित्र/बाहिर दुवैतिर तीन चिरा परेर चर्किएको छ । भवन चिराचिरा परी कार्यसम्पादन गर्न नमिल्ने भएकाले नयाँ अस्थायी संरचना तयार गर्ने प्रक्रिया अघि बढिरहेको सर्वोच्च अदालतका सहप्रवक्ता बाबुराम दाहालले बताउनुभयो ।

सिंहदरबारस्थित नेपाल आर्मीको क्यावलरी (घोडा बाँध्ने तबेला) लाई जतिसक्दो चाँडो खाली गरी सो स्थानमा सर्वोच्च अदालतको अस्थायी संरचना बनाएर इजलास बनाई मुद्दा र सुनुवाइको काम सुरु गर्ने विषयमा यसअघि नै छलफल भइसकेको छ ।

सर्वोच्च अदालतका साथै भूकम्प प्रभावित १४ जिल्लाकै जिल्ला अदालतहरु क्षतिग्रस्त भएका छन् भने अन्य जिल्ला अदालतमा पनि सामान्य क्षति भएका छन् ।

काठमाडौँ जिल्ला अदालत: भवनको अन्तिम तलाको पश्चिमतर्फ चिरा पर्नुका साथै ठाउँठाउँमा चर्किएको छ ।

भक्तपुर जिल्ला अदालत: इजलास १ र ३ को पर्खाल चर्किएको छ । जिल्ला प्रशासन कार्यालयको पर्खाल भत्किएर अदालतको प्राङ्गणमा आएको छ भने अदालतको पश्चिम र दक्षिणका भित्ता ठाउँ–ठाउँमा चर्किएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला अदालत: दोस्रो तलाका भित्ता र पिल्लरको भाग चर्किएको छ । १, २, ३ र इजलास कक्षको चार दिशा र बाहिरी भाग चर्किएको छ । तेस्रो तलामा जाने बाटो र आवास रहेको तल्लामा थोरै ढलानको भाग चर्किएको छ ।

सिन्धुपाल्चोक जिल्ला अदालत: पुरानो आवास भवन पूर्णरुपमा ध्वस्त भएको छ भने आवासको पर्खाल सबै भत्किएको छ । अदातलको भवनको बाहिरी भाग यत्रतत्र चर्किएको छ । भवनभित्र कोठा, भ¥याङ चिरा परेको छ । अदालतको जग्गामा रहेको पुरानो कार्यालय पूर्णरुपमा ध्वत भएको छ ।

दोलखा जिल्ला अदालत: बस्न नमिल्ने गरी पूर्णरुपमा भत्किएको छ । कम्पाउन्डको पर्खाल र अदातलको पेटी चर्किएको छ । इजलास १ र २ सञ्चालन गर्ने अवस्थामा छैन ।

ललितपुर जिल्ला अदालत: पुरानो भवनमध्ये एउटा भवन काम नलाग्ने गरी भत्किएको छ । नयाँ भवन पनि चर्किएको छ ।

धादिङ जिल्ला अदालत: भवन पूर्णरुपमा चर्किएको छ । अदालतको च्याम्बर, इजलास र दर्ता चलानी शाखामा मर्मत नगरी सञ्चालन गर्न जोमिखपूर्ण छ ।

नुवाकोट जिल्ला अदालत: लेखा र स्टोर शाखा पूर्णरुपमा क्षति भएको छ । महिला र पुरुष शौचालय पूर्णरुपमा नष्ट, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री क्षतविक्षत भएका छन् भने भवन सञ्चालन गर्न नसकिने अवस्थामा पूर्णरुपमा क्षति भएको छ ।

रसुवा जिल्ला अदालत: पुरानो भवन क्षतिग्रस्त छ । नयाँ भवनको अवस्थामा सुरक्षित रहेको छ ।

रामेछाप जिल्ला अदालत: भवनको इजलास कक्षको दायाँतिरको भित्ता बिम छोडी चर्किएको छ भने अन्य इजलास पनि चर्किएको छ । अदालतका कम्पाउन्ड भत्किएका छन् ।

लमजुङ जिल्ला अदालत: भवनमा सामान्य चिरा परेको छ । कार्यसञ्चालनमा ल्याउन सकिने अवस्था छ ।

तनहुँ जिल्ला अदालत: भवनको पिल्लर र पर्खालको बीचमा सामान्य खालका १८÷२० चिरा परेको छ । ठूलो रुपमा भौतिक क्षति भएको छैन ।

पुनरावेदन अदालत पाटन: भवनको भुइँ तलाको उत्तरपट्टिको ढलान भास्सिएको छ । इजलास १, ६ र कोठा नम्बर ३९, ४० को पर्खाल चर्किएको छ । भवन कार्यसम्पादन गर्न नसकिने अवस्था रहेको छ ।

त्यस्तैगरी पुनरावेदन अदालत जनकपुरको इजलास १ पट्टिको पर्खालमा सामान्य चिरा परेको छ । भवनमा रहेका कार्यसम्पादन गर्न सकिने छ । भोजपुर जिल्ला अदालतको भवन ठाउँठाउँमा चर्किएको छ भने अन्य केही जिल्ला अदालतका भवनमा पनि सामान्य चिरा परेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता बाबुराम दाहालका अनुसार मुद्दा र सुनुवाइको कामबाहेक सर्वोच्च अदालतका सबै कम सुचारु गरेको छ । अस्थायी संरचना तयार गरेर जतिसक्दो छिटो काम सुरु गर्नका लागि पनि प्रक्रिया अघि बढिरहेको छ ।

दोलखा र सिन्धुपाल्चोकबाहेक अन्य जिल्लामा बस्न नमिल्ने भवनमा अस्थायी संरचना तयार गरेर र सामान्य चर्किएका भवनमा काम, मुद्दा र सुनुवाइको काम सुरु भइसकेको छ ।

प्रतिक्रिया