गजुरी (धादिङ), ३१ वैशाख । विनाशकारी भूकम्प गएको दुई साता बितिसक्दा पनि धादिङका विकट बस्तीमा अझै राहत पुग्न सकेको छैन ।
विकट बस्तीमा सवारीमार्फत लैजान पनि नसकिने र हेलिकप्टर अभावका कारण राहत पुर्याउन नसकिएको हो ।
राहत र उद्धारका लागि विभिन्न कम्पनीको हेलिकप्टर र भारतीय वायु सेवाले सञ्चालन गरेको हेलिकप्टर प्रयोग हुँदै आएको भए पनि भारतीय वायु सेवाको हेलिकप्टर दुर्गममा जान नमान्दा समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताउनुभयो ।
उत्तरी धादिङको लापा लैजान तयार गरेर राखिएको सामान भारतीय हेलिकप्टर लापा जान नमानेपछि बाहिर नै अलपत्र परेको छ । एक गैरसरकारी संस्थाले पनि लापा लैजान तयार पारेर रुखको फेदमुनि राखेको चामल पनि अलपत्र परेको छ ।
साना हेलिकप्टरमा पठाउँदा एक पटकमा तीन क्विन्टलमात्र लैजाने र ठूला हेलिकप्टर त्यस क्षेत्रमा जान नमानेका कारण समस्या उत्पन्न भएको हो ।
सडक सञ्जालले नछोएको उत्तरी धादिङका री, लापा, तिप्लिङ, झार्लाङ, सेर्तुङलगायतका गाउँ विकास समितिमा राहत पुर्याउन कठिन भएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
यसैगरी विनाशकारी भूकम्पपछि आइरहेका साना कम्पनका कारण एक वृद्धको ढुङ्गा खसेर लाग्दा मृत्यु भएको छ ।
प्रहरीका अनुसार सानो झड्का आउँदा कल्लेरी गाविस–३ हाडी खोला निवासी ७१ वर्षीया साइली ढ्यागा मगरकोे भुइँचालोेमा घर लडेर थिच्दा मृत्यु भएको छ ।
प्रतिक्रिया