इजरायलमा रहेका अत्याधिक संघ संस्थाहरुको प्रतिनिधित्व तथा आम इजरायलवासी नेपालीहरुको सहभागितामा संचालन गरिएको भुकम्प पिडित सहयोग अभियान इजरायलद्वारा संकलित रकमबाट आम विनासकारी भूकम्पबाट प्रभावित जिल्ला मध्येको नुवाकोटमा पहिलो चरण अन्तर्गतको राहत वितरण कार्यक्रममा त्रिपाल/पाल वितरण गरिएको छ ।
गत मंगलवार भुकम्प पिडित सहयोग अभियान इजरायलको आग्रहमा समाजसेवी सविता उप्रती, डा. उद्दव प्याकुरेल, पत्रकार तुवेल सापकोटा तथा दिपक लुईटेल, दिपक ढुंगाना, लगायतका सहयोगीहरूद्वारा नुवाकोटको जिलिङ १ मा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटसंगको समन्वयमा ८० थान पाल वितरण गरिएको हो ।
राहतको प्रतिक्षामा रहेका तर कतैवाट पनि राहतको नाममा पालसम्म नपाएका भुकम्पपिडितहरूले इजरायलवासी नेपालीहरूको सहयोगमा पाल पाउदा उनीहरूको मुहारमा खुसी छाएको थियो भने पिडितहरूले इजरायलवासी नेपालीहरूलाई मुरी-मुरी धन्यवाद सहित आशिर्वाद दिएका थिए ।
उक्त वडामा राहत नपाउने पिडितहरूको संङ्ख्या अत्ध्याधिक भएको कारण राहत वितरण गर्न केही कठिनाई भएतापनि रेडक्रस सोसाईटी उपशाखाका प्रतिनिधीहरूले निष्पक्ष ढंगवाट हालसम्म पाल नपाएकाहरुको पहिचान गरी राहत वितरण गरेको कारण पिडितहरु लाभान्वित भएको र कार्यक्रम प्रभावकारी रहेको वितरक टोलीले भूकम्प पिडित सहयोग अभियान इजरायललाई जानकारी गराएका छन् ।
उक्त टोली राहत वितरणकै लागि भुकम्पवाट अतिप्रभावित जिल्ला रसुवाको विकट यार्सा गा. वि. स मा जाने क्रममा मंगलवार दिउसो आएको विनासकारी दोश्रो ठुलो भुकम्पको कारण रसुवाको विभिन्न स्थानहरूमा गएको पहिरोवाट वाटो अवरूद्द भएकाले गन्तव्यमा नपुग्दै फर्किन विवश भए । यस्तो विपतको समयमा पनि रसुवाको कुनाकुनामा चाहार्दै पिडितहरूको घाउमा मल्हमपट्टी लगाईरहेका र भुकम्प पिडित सहयोग अभियान इजरायलसंग वारम्वार सम्पर्कमा रहदै रसुवाको स्थलगत स्थितिको जानकारी गराउदै आउनुभएका स्थानिय रसुवावासी तथा नेपाल मानव अधिकार संगठन रसुवाका अध्यक्ष सरोज न्यौपानेलाई उक्त राहत पिडितहरूसमक्ष पुर्याउने प्रतिवद्दताका साथ ११० थान पाल हस्तान्तरण गरिएको छ ।
न्यौपाने लगायत रसुवामा राहतको लागि लागिपरिरहेका व्यक्तिहरूसंगको सम्पर्कबाट नै उक्त गा. वि. स मा राहत नपुगेको पत्ता लगाई अति विकट र प्रभावित इलाकामा जाने हिम्मत गरेर गएको राहत वितरक टोलीले विच वाटोवाटै फर्किनु परेको बाध्यताबाट खिन्नता महशुस गरेपनि उक्त राहत पिडितहरूसमक्ष पुग्नेमा विश्वस्त रहेको जनाएका छन् । न्यौपानेले इजरायलमा कोमल हृदय लिएर पिडितको सेवामा जुटिरहेका सम्पूर्ण नेपालीहरूलाई धन्यवाद दिदै इजरायलमा रहेका नेपालीहरूले देश दुखेको वेलामा उठाएका सहयोगी हातहरू यथासक्य पिडितहरूसमक्ष पुर्याउने प्रतिवद्दता व्यक्त गर्दै रसुवासम्म आएर विपतमा साथ दिनुहुने सवैमा जिल्लावासीका तर्फबाट आभार व्यक्त गर्नु भएको छ ।
सोही क्रममा न्यौपानेले इन्टरनेटको सुविधा भएसम्म पिडितहरूले राहत पाएपछि दिने प्रतिकिया र आशिर्बाद इजरायलवासी नेपालीहरू समक्ष पठाउने र त्यसले पुन्यकर्ममा जुटेका सबैलाई अझ आत्मसन्तुष्टि मिल्न सक्ने वताउनुभयो ।
भुकम्प पिडित सहयोग अभियान इजरायलको अनुरोधलाई स्वीकार गर्दै राहत वितरणमा लागिपरेका सहयोगी टिमप्रति भुकम्प पिडित सहयोग अभियान इजरायलले धन्यवाद सहित हार्दिक आभार प्रकट गरेको छ ।
भुकम्प पिडित सहयोग अभियानले चरण-चरणमा सहयोग गर्ने क्रम जारी राखेको छ । अभियानले नुवाकोट र रसुवामा राहतस्वरूप २ लाख ४६ हजार ( रू २,४६,०००) वरावरको पाल हस्तान्तरण गरेको छ भने गत साता गोर्खाको जौवारीमा राहत स्वरूप १ लाख २० हजार ( रू १,२०,०००) वरावरको खाध्यान्न वितरण गरेको थियो भने मंगलवार नै धादिङको नीलकन्ठ – ४ का अति प्रभावित गाँउहरु सिम्पानी र राम्चेमा १ लाख ५० हजार वरावरको खाध्यान्न वितरण गरिसकेको छ । राहत वितरणकै क्रममा केही दिनमा नै दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक,लमजुङ र मकवानपुर जिल्लाका अतिप्रभावित क्षेत्रहरुमा राहत वितरण गर्ने द्रुत तयारी भईरहेकोछ ।
भूकम्पले क्षति पुर्याएका हरेक गाउँ र बस्तीका पिडितहरुलाई व्यक्तिगत र समुहगत रुपमा पनि राहत पठाई रहेका इजरायलका नेपालीहरु बिशाल छाती लिएर भूकम्प पिडित सहयोग अभियान इजरायलमा पनि एकताकसाथ सहयोग जुटाई रहेका छन् | यस अभियानमा हालसम्म करिव १ हजार भन्दा वढी सहयोगी मनहरुले सहभागिता जनाइसकेका छन् भने मुलुक फेरी पनि भुकम्मको मारमा परिरहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै अभियानमा छुट्नु भएका जो कोहीलाई यस पवित्र कार्यमा सहयोगको लागि सहभागीता जनाउन भूकम्प पिडित सहयोग अभियान इजरायलले फेरीपनि सबैलाई हार्दिक आव्हान गरेको छ
।
)
प्रतिक्रिया