बुधबार, साउन २० २०७८
काठमाडौं ०५:०५
वासिङटन डिसी 19:20

वर्खायाम अगावै जस्तापाता वितरण गरिन्छ: उपप्रधानमन्त्री गौतम

इनेप्लिज २०७२ वैशाख ३० गते १४:५१ मा प्रकाशित

bamdevकाठमाडौँ, ३० वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सरकारको आवश्यकता र मुलुकको चाहनाअनुसार नै विदेशी मित्रराष्ट्रका उद्धारकर्तालाई भूकम्पपीडित जनताको उद्धारमा लगाइएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को बैठकमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले भूकम्पपीडितको उद्धार तथा राहतमा नेपालको आवश्यतकता र चाहनाअनुसार नै उद्धारकर्ता परिचालन गरिएको र नेपालको सार्वभौमसत्तालाई ख्याल गरिएको जानकारी गराउनुभयो ।

सांसदले उद्धार र राहतको नाममा मुलुकको विशिष्ठता र सार्वभौमसत्ता विपरीतका गतिविधि भएका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि भएको र त्यसमा सरकारको जवाफ मागेपछि गृहमन्त्रीको सो धारणा आएको हो ।

भूकम्पपीडित जनतालाई घरवारविहीन हुन नदिने धारणा यसअघि नै प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक गरिसक्नुभएको सन्दर्भमा उहाँले घर भत्केका र क्षतिग्रस्त भएका सबै नागरिकलाई सरकारले घर बनाउन सबै खालको सहयोग उपलब्ध गराउने बताउनुभयो ।

जनताको सेवाका लागि सरकार सचेत रहेको उल्लेख गर्दै उहाँले राहत वितरणमा कुनै पनि कन्जुस्याईं नगरिएको र कमजोरी हुन नदिने उल्लेख गर्नु भयो ।

राहत वितरणमा कुनै पनि समस्या हुनेतर्फ सचेत रहेको जानकारी गराउँदै उहाँले राहत वितरण प्रक्रियालाई व्यवस्थित बनाउन सरकारको तर्फबाट हदैसम्मको प्रयत्न गरिएको र कोही कसैले पनि जर्वजस्ती गर्न नपाउने उल्लेख गर्नुभयो ।

राहत सामग्री कोही कसैले लुटपाट गरिएको पाइएमा त्यस्ता व्यक्ति माथि कडाकारबाही गरिने उहाँको भनाइ थियो । केही जिल्लामा राहत सामग्री खोसिएको र आफूखुसी वितरण गरिएको भन्ने गुनासो आएपछि सरकार संवेदनशील भएको तथा अवाञ्छित गतिविधि गर्नेलाई कानुनी कारबाही गरिने उपप्रधानमन्त्री गौतमको धारणा थियो ।

भूकम्प प्रभावित जिल्लामा अनुगमनका लागि सभासद्लाई नै खटाइएको र सभासद्को सो माग जायज रहेको उहाँको भनाइ थियो ।
पुनः निर्माण अभियान राष्ट्रको महाअभियान भएको उल्लेख गर्दै उहाँले सरकारले घोषणा गरेको राहत कोष सानो भएपनि आगामी दिनमा त्यसलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले राहतको कामलाई अन्तिम चरणमा पु¥याएको उल्लेख गर्दै उहाँले पुनः निर्माणको कामलाई वर्खायाम अगावै अगाडि बढाइने र त्यसमा सहयोग गर्न उहाँले सबै पक्षलाई आग्रह गर्नुभयो ।

भूकम्प प्रभावित जिल्लामा वर्खायाम अगावै जस्ता पाताको व्यवस्था गर्नेतर्फ सरकारले काम सुरु गरिसकेको जानकारी दिँदै उहाँले सबै पक्षको सहयोगमा जनताको उचित व्यवस्था गरिने भएकाले आशङ्का नगर्न आग्रह गर्नुभयो ।

विशेष समिति गठन

यसैबीच, व्यवस्थापिका–संसद्ले राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति गठन गरेको छ ।

सभामुख पदेन सभापति र उपसभामुख पदेन उपसभापति रहने सो समितिले यही वैशाख १२ गते गएको भूकम्पमा परी भएको जनधनको क्षति, उद्धार, राहत वितरण र पुनः निर्माणलगायत विषयमा अनुगमन गर्ने तथा सरकारलाई आवश्यक निर्देशन दिनेछ ।

सो समितिमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य पदेन सदस्य रहनुहुनेछ ।

कुल ७३ सदस्यीय सो समितिमा दलीय प्रतिनिधित्वका आधारमा सहभागिता गराइएको छ । समितिमा रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, इश्वरी न्यौपाने, आनन्दप्रसाद ढुङ्गाना, पद्यमनारायण चौधरी, फरमुल्लाह मन्सुर, दीपक गिरी, केशवकुमार बुढाथोकी, जीवनवहादुर शाही, रोमी गौचन थकाली, भरतकुमार साह, सञ्जयकुमार गौतम, डा शेखर कोइराला, उषा गुरुङ, डा चन्द्रमोहन यादव, झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली सदस्य हुनुहुन्छ ।

यस्तै सो समितिमा भीमबहादुर रावल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, अग्निप्रसाद खरेल, भानुभक्त ढकाल, शत्रुघन महतो, गोकुलप्रसाद घर्ती, दलबहादुर सुनार, सीता गिरी, मञ्जुकुमारी चौधरी, दामोदर भण्डारी, नरदेवी पुन (मगर), मोहन बाँनिया, जुनैद अन्सारी, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, रेखा शर्मा, शिवकुमार मण्डल सदस्य हुनुहुन्छ ।

समितिमा श्रीप्रसाद जगेवु, दलजीत विके श्रीपाली, कमल थापा, कुन्तीकुमारी शाही, जितेन्द्रनारायण देव, दीपक बोहोरा, विज्रेशकुमार गुप्ता, डा शिवजी यादव, लक्ष्मणलाल कर्ण, अइन्द्रसुन्दर नेम्वाङ, डिलबहादुर नेपाली, प्रेम सुवाल, धमे्रन्द्रकुमार साह तेली, दुर्गा पौडेल, जयदेव जोशी, नरेन्द्र साह कलवार, एकनाथ ढकाल, शिवलाल थापा, गोपाल दहित, विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, प्रेमबहादुर सिंह, हरिचरण साह, सरिताकुमारी यादव, लक्ष्मण राजवंशी, डिम्पलकुमारी झा, रामकुमार राई, कुमार खड्का, लोकमणि ढकाल, मेघराज नेपाली निषाद, एसोदाकुमारी लामा, अतहरकमाल मुसलमान, चन्द्रेश्वर झा सदस्य हुनुहुन्छ ।

समिति आफैले कार्यविधि तय गर्ने, आवश्यकताअनुसार विशेषज्ञ बोलाएर छलफल गर्नसक्ने, भूकम्प प्रभावित जिल्लाको स्थलगत अनुगमन गरी राहत, पुनः स्थापनालगायत विषयमा आवश्यक निर्देशन तथा अनुगमन गर्न सक्ने अख्यिारी प्रदान गरिएको छ ।

व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली, २०७० को नियम बमोजिम सो समिति गठन गरिएको हो । भूकम्पका कारण भएको जनधनको क्षति, ऐतिहासिक तथा सांस्कृतिक धरोहरको विषयमा आवश्यक अध्ययन गर्ने अख्तियारी समेत समितिलाई दिइएको छ ।

प्रतिक्रिया