भूकम्पमा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

इनेप्लिज २०७२ वैशाख २९ गते १४:५७ मा प्रकाशित

काठमाडौँ, २९ वैशाख । आज दिउँसो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या मुलुकभर ५७ पुगेको छ ।
गृहमन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार भूकम्पमा परी एक हजार १२९ जना घाइते भएका छन् ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भूकम्पमा परी अहिलेसम्म ५७ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।

भूकम्पमा परी दोलखामा १९, सिन्धुपाल्चोकमा पाँच, काठमाडौँमा चार, सुनसरीमा एक, धनुषामा एक, सर्लाहीमा एक, सिन्धुलीमा दुई, रौतहटमा एक, रामेछापमा एक र गोरखामा एकको मृत्यु भएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी हाम्रा काठमाडौँ समाचारदाता पूर्णप्रसाद मिश्रका अनुसार गोकर्णेश्वर नगरपालिका ५ मा एक घर भत्किँदा ५८ वर्षीया सावित्री श्रेष्ठको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । यस्तै शंकरापुर नपरपालिका ४ मा २० घर भत्केका छन् भने आठजना घाइते भएका छन् । रासस

प्रतिक्रिया