डाँडापारिको दुर्गम गाविसका बासिन्दाले बल्ल पाए राहत

इनेप्लिज २०७२ वैशाख २९ गते ४:४० मा प्रकाशित

rahatबनेपा (फलामेटार), २९ वैशाख । भूकम्पका कारण पीडित बनेका काभ्रेपलाञ्चोकको फलामेटार र साल्धारा गाविसका स्थानीय बासिन्दाले बल्ल राहत पाएका छन् ।

महाभारत शृङ्खलापारिको दुर्गम गाविस मानिने क्षेत्रमा भूकम्प गएको १७आँै दिन उनीहरूले राहत पाएपछि खुसी हुँदै भूकम्प गएपछिका कयौँ दिन भोकभोकै बस्नु परेको सुनाए । त्रिपाल त छँदैछैन खानेकुरा नभएर कयौँ रात भोकै पनि बस्यौँ साल्धारा गाविस–२ बाट झन्डै तीन घन्टा पैदल हिँडेर राहत लिन फलामेटारको नाङ्गे आए कि चिनिमाया तामाङले भनिन् । उनले अहिलेसम्म आफूलाई कसैले राहत नदिएको उल्लेख गर्दै अन्नपात सबै घर भत्किएर पुरिएको बताइन् ।

आफूहरू खेतबारीमा काममा व्यस्त भएकाले बाँचेको उल्लेख गर्दैै आफूले पाएको राहत बाँडेर खान्छौँ भनिन् । उनले २५ किलोग्रामको चामल, एक लिटर तेल र एक प्याकेट नुन राहतस्वरुप लिएकी थिइन् । उनले खाद्यान्नलगायतका सामग्री पाउँदा केहीले भने आफूहरूले पनि कुनै सामग्री नपाएको गुनासो गर्दै थिए तर राहत सामग्रीको अभावका कारण केही सीमितले मात्रै पाएका थिए ।

सरकारी निकायले भने राहत सामग्री वितरण भइरहेको जिकिर गरेको छ । ब्राजिलको फ्लुवा नो हिमालयनको टोलीले सो क्षेत्रमा रु एक लाख ५० हजारबराबरको सामग्री भूकम्पबाट पीडित भएकालाई उपलब्ध गराएको थियो ।

सो टोलीका नेता निरज शाक्यले पीडित काभ्रेपलाञ्चोकमा पनि बढी रहेकाले गाउँमा नै पुगेर राहत वितरण भएको जानकारी दिँदै राहत पर्याप्त नभए पनि केही पीडितको उद्धार हुन्छ भन्नुभयो ।

उहाँले जिल्लाको काभ्रे गाविसस्थित बडाल गाउँबाहेक दुई स्थानमा खाद्यान्नलगायतका राहत सामग्री वितरण भएको उल्लेख गर्दै अन्य स्थानमा पनि बाँड्नका लागि तयारी भइरहेको बताउनुभयो ।

काभ्रे उद्योग वाणिज्य सङ्घ, बनेपाका सहसचिव रवीन्द्र वैदारले राहत सामग्रीको अभाव भएकाले केही पीडितले मात्रै राहत पाएको उल्लेख गर्दै दुर्गम क्षेत्रमा पीडितको अवस्था दयनीय छ भन्नुभयो ।

उहाँका अनुसार साल्धारा र फलामेटार गाविसका करिब ८० जनाले मात्रै सो राहत पाएका हुन् । यी गाविसमा ठूलो मानवीय क्षति नभए पनि अधिकांश घर पूर्ण रुपले क्षति भएको छ ।

वैशाख १२ गते गएको ७.६ रेक्टरको विनाशकारी भूकम्पका कारण काभ्रेपलाञ्चोकमा झन्डै ४८ हजार घर पूर्ण रूपमा क्षति भएको छ भने करिब २० हजार घर आंशिक रूपमा क्षति भएको छ । यी घरबाट एक लाख २० हजार विस्थापित भएको अनुमान छ । डाँडापारिका चार गाविसमा खाद्यान्न पुगे पनि अन्य गाविसमा अहिलेसम्म पनि राहत पुगेको छैन । यातायात, शिक्षाको पहुँच कम भएकाले दुर्गम मानिने डाँडापारिको क्षेत्रमा ११ गाविस छन् ।

प्रतिक्रिया