मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १८:०६
वासिङटन डिसी 07:21

राष्ट्रिय विपत्तिको सामनाका लागि राष्ट्रिय सरकार: उपसभापति पौडेल

इनेप्लिज २०७२ वैशाख २७ गते १३:०९ मा प्रकाशित

ramchandra-paudelचितवन, २७ वैशाख । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै दल मिलेर विपत्तिको सामना गर्नका लागि राष्ट्रिय सरकारको कुरा उठेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकार परिवर्तन गर्न मात्र राष्ट्रिय सरकारको कुरा नउठाइएको स्पष्ट पार्नु भयो ।

राष्ट्रिय विपत्तिको सामना सत्ताधारी र विपक्षी नभई सबै एक भएर गर्नका लागिमात्र राष्ट्रिय सरकारको कुरा उठेको उहाँले बताउनुभयो ।

सरकारमा रहेका र बाहिर रहेका सबै दलका बीचमा सङ्कटबाट राज्यलाई उठाउन एकजुट भएर लाग्ने विषयमा संसद्मा सङ्कल्प प्रस्ताव पेससमेत गरिएको भन्दै उपसभापति पौडेलले सरकारको नेतृत्वका विषयमा यो विषम परिस्थितिमा कुनै कुरा नउठ्ने बताउनुभयो ।

भूकम्प प्रभावितलाई राज्यका तर्फबाट गरिने उद्धार, राहत र पुनः निर्माणका काममा दलबीचमा एकमत रहेको भन्दै उहाँले यो विपत्तिलाई अवसरका रुपमा लिएर व्यवस्थित ढङ्गबाट नवनिर्माणको काममा एकजुट भएर गर्नुपर्ने धारणा राख्नु भयो ।

कतिपयको अझै उद्धार हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यस्ता विषयमा सूचना दिएर सरकारलाई सहयोग गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

उपसभापति पौडेल सवारी दुर्घटनामा घाइते हुनुभएका वरिष्ठ पत्रकार कृष्ण केसीलाई भेट्न चितवन आउनुभएको हो । दुर्घटनामा केसीको श्रीमतीको निधन भएको थियो ।

प्रतिक्रिया